एसएलसी पाठ्य सामाग्री एप्समा

appsशैक्षिक जनशक्ति विकास केन्द्रले एसएलसी तयारी पाठ्य सामाग्री एप्समा राखेको छ । भूकम्प र नाकाबन्दीले पढ्न नपाएका विद्यार्थीलाई लक्षित गरेर केन्द्रले अनिवार्य अंग्रेजी, गणित र विज्ञान बिषयको पाठ्य सामाग्री एडु नेपाल एप्स मार्फत पढ्ने व्यवस्था मिलाएको हो ।

नाकाबन्दीले तराईका विद्यालयमा पढाई नभएपछि रेडियो र टेलिभिजन मार्फत पनि पढाउने व्यवस्था गरिसकेको छ । शिक्षा मन्त्रालयले तराईका ५४ हजार विद्यार्थीलाई एसएलसी सहयोगी पुस्तक पठाउने भएको छ । तराईमा पठाउन लागेको पुस्तकको सामाग्री एप्समा राखेको हो । उक्त सामाग्रीमा अंग्रेजी, गणित र विज्ञान बिषयको सबै पाठका बारेमा जानकारी, एसएलसी नमूना प्रश्न, त्यसको उत्तर र सम्भावित प्रश्न समेत समेटिएको छ ।

रेडियो र टेलिभिजन कार्यक्रमलाई पनि एप्समा राखिएको छ । रेडियो कार्यक्रम एप्समा राखेपछि दृष्टिबिहीन विद्यार्थीले समेत लाभान्वित हुने पी एण्ड पी मल्टि मिडियाका अध्यक्ष श्रीधर पौडेलले बताए । एडु नेपाल नामक एप्सको शिक्षा मन्त्री पोखरेलले बुधबार सार्वजनिक गरेका हुन् ।

एप्समा राखिएको सामाग्रीले विद्यार्थीको सिकाई उपलब्धी बढ्न सक्ने मन्त्री पोखरेलले बताए । एप्समा अंग्रेजी, गणित र विज्ञानको मात्रै पाठ्य सामाग्री राखेकोले अनिवार्य नेपाली लगायत सबै बिषयको सामाग्री पनि राख्ने व्यवस्था मिलाउन उनले केन्द्रलाई निर्देशन दिए ।