आहा गोल्ड कपका लागि सहारा यूके टिम नेपाल प्रस्थान

लन्डन– सहारा क्लबको आयोजनामा १७ जनवरीदेखि पोखरामा हुन लागेको १५ औं आहा रारा गोल्ड कप २०१७ का लागि सहारा यूके टोली नेपाल प्रस्थान गरेको छ ।

सहारा यूके अध्यक्ष मीनबहादुर गुरुङ (साइँला) को नेतृत्वमा शुक्रबार साँझ टोली काठमाडौंतर्फ उडेको छ । सहारा यूकेबाट यो वर्ष करिब ४० जना नेपाल जाने छन् । खर्च बढेपछि केही वर्षदेखि खेलाडी लैजान भने रोकिएको छ ।

२८ जनवरीमा फाइनल हुने उक्त प्रतियोगिताका प्रथम विजेतालाई ५ लाख रुपैयाँ पुरस्कार छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १२ टिमले भाग लिंदैछन् ।

सहारा यूकेले प्रत्येक दिन म्यान अफ द म्याच ट्रफी प्रायोजन गर्नेछ । गुरुङ अध्यक्ष भएपछि उनले ट्रफीसँगै म्यान अफ द म्याच विजेतालाई तीनहजार रुपैयाँ नगद समेत दिने निर्णय भएको छ ।

गुरुङले आफ्नो संस्थाले सहारा एकेडेमीको दुई करोडको अक्षयकोष स्थापनामा यथाशक्य सहयोग गर्ने प्रतिवद्धता अनुरुप १० लाख रुपैयाँ उठाइसकेको जनाए ।