लन्डन- नेपाल पर्यटन बोर्डले बेलायत निवासी पशुपति भण्डारीलाई मानार्थ जनसम्पर्क प्रतिनिधि नियुक्ति गरेको छ ।![12721697_10205717371962401_1131688860_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/02/12721697_10205717371962401_1131688860_n1-188x300.jpg)
नेपालको पर्यटन प्रबर्द्धनमा भण्डारीले खेलेको भूमिकाको कदर गर्दै बोर्डले उनलाई जनसम्पर्क प्रतिनिधि तोकेको बोर्डको पत्रमा उल्लेख छ । उनले लण्डनस्थित नेपाली दूतावाससँग समन्वय गरी प्रबर्द्धनात्मक गतिविधि गर्न पाउने प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले हस्ताक्षर गरेर भण्डारीलाई दिएको पत्रमा उल्लेख छ ।
भण्डारी दुई वर्षका लागि सो पदमा नियुक्त भएका हुन् । यसअघि उक्त पदमा ध्रुव केसी थिए । उनको कार्यकाल समाप्त भएपछि पर्यटन बोर्डले भण्डारीलाई नियुक्ति गरेको हो ।
भण्डारी बेलायतका चर्चित व्यवसायी हुन् । एभरेस्ट इनका निर्देशक भण्डारीले जनसम्पर्क प्रतिनिधिको नियुक्ति पाएपछि लन्डन नेपाल न्यूज डट कमसँग खुशी व्यक्त गरे । उनले भने, ँदेशका लागि केही गर्नुपर्छ भन्ने भावना जागेको छ ।’
भण्डारीले जनसम्पर्क प्रतिनिधिको रुपमा पर्यटन बोर्डले मुलुकलाई बेलायती पर्यटकको प्रमुख होलिडे गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले गर्ने प्रबर्द्धनात्मक कार्यक्रमको लक्ष्य प्राप्तिमा काम गर्ने बोर्डको विश्वास छ । उनलाई लेटरहेड र भिटिङ कार्डहरुमा बोर्डको लोगो प्रयोग गर्ने अधिकार दिएको छ ।






