काठमाडौं- सभापति सुशील कोइरालाको निधन भएपछि आगामी महाधिवेशनमा कसरी अघि बढ्ने भन्नेबारे कांग्रेस संस्थापन पक्षका नेताहरू छलफलमा जुटेका छन् ।
सुशीलको किरिया भइरहेको महाराजगन्जस्थित डा. शशांक कोइरालानिवासमा शनिबार बसेको बैठकमा कसको नेतृत्वमा अगाडि बढ्ने भन्नेबारे छलफल भएको छ ।
कार्यबाहक सभापति रामचन्द्र पौडेलले १२औँ महाधिवेशनमा जस्तै संस्थापन पक्ष एक भएर वरिष्ठ शेरबहादुर देउवा पक्षको सामना गर्नुपर्ने बताएका थिए ।
छलफलमा कार्यबाहक सभापति पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू डा. शशांक कोइराला, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगाना, महेश आचार्य, डा। मीनेन्द्र रिजाल, पद्मनारायण चौधरी, डा. नारायण खड्का, बलबहादुर केसीलगायत नेताहरू सहभागी थिए ।
नेतृ सुजाता कोइराला भने संस्थापनको छलफल हुने भनेपछि बाहिरिएकी थिइन् । सबै नेता राजधानी फर्किएपछि थप छलफल संस्थापन पक्षका अधिकांश नेताहरू जिल्लामा रहेकाले उनीहरू काठमाडौंमा आएपछि बसेर रणनीति बनाउने सहमति भएको केन्द्रीय सदस्य डा। नारायण खड्काले जानकारी दिए ।






