काठमाडौं- नेपाल आइसीसी यु–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समुह डी मा लगातार दोस्रो जित दर्ता गर्दै नेपाल र भारत प्रतियोगितको क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
समुहको पहिलो खेलमा न्युजिल्याण्डलाई पराजित गरेको नेपालले आज आयरल्याण्डलाई पराजित गरेको हो । त्यस्तै भारतले पहिलो खेलमा आयरल्याण्डलाई पराजित गरेको थियो भने आज न्युजिल्याण्डलाई पराजित गरेसँगै समुहको अन्तिम खेल खेल्नु अगावै नेपालसँगै भारत पनि क्वाटरफाइनल पुगेको हो ।
लगातार दुई खेलमा पराजय बेहोरोसँगै आयरल्याण्ड र न्युजिल्याण्ड भने समुह चरणबाटै बाहिरिएका छन् ।
हालसम्म अन्डर नाइन्टिन विश्वकपको सात वटा संस्करण खेलेको नेपालले दोस्रो पटक क्वाटरफाइनलमा स्थान बनाएको हो । यसअघि सन् २००० मा पहिलो पटक अन्डर नाइन्टिन विश्वकपमा सहभागी हुँदा नेपाल क्वाटरफाइनल पुगेको थियो ।
अन्डर नाइन्टिन विश्वकपको दोस्रो चरणमा स्थान बनाउने नेपाल एकमात्र एसोसियट राष्ट्र हो ।
पहिलो खेलमा न्युजिल्याण्डलाई स्तब्ध पारेको नेपालले आज आयरल्याण्डलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै लगातार दोस्रो जित दर्ता गर्यो ।
बंगलादेशको फतुल्लाहको खान शाहेव रंगशालामा आयरल्याण्डले प्रस्तुत गरेको १३२ रनको बिजयी लक्ष्य नेपालले २५ दशमलव ३ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका लागि योगेन्द्र कार्कीले सर्वाधिक नटआउट ६१ रनको योगदान गर्दा आरिफ सेखले ३१ तथा सुनिल धमलाले २८ रन जोडे ।
समुहको अन्तिम खेलमा सोमबार नेपाल र भारत भिड्दै छन् । सन् २००० मा पहिलो पटक अन्डर नाइन्टिन विश्वकपमा सहभागी हुँदा क्वार्टरफाइनल पुगेको नेपालले त्यसपछिको संस्करणमा त्यस्तो उपलब्धि दोहोर्याउन सकेको छैन ।







