काठमाडौं- संविधान संशोधनपछि जारी मधेस आन्दोलन मत्थर हुने आशा गरिए पनि त्यसो हुन सकेको छैन ।
संविधान संशोधन भएको पाँच दिनमा पनि कुनै सकारात्मक संकेत देखिएको छैन । प्रमुख तीन दल र मधेसी मोर्चाबीच ५ माघयता संवाद टुटेको छ । बालुवाटारमा तीन दल र मोर्चाबीच शीर्ष तहको वार्तामा प्रधानमन्त्री केपी ओली आक्रोशित रूपमा प्रस्तुत भएपछि वार्ता भाँडिएको थियो । प्रधानमन्त्री ओली र तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीबीच भनाभनसमेत भएको थियो ।
संविधान संशोधनपछि मोर्चासँग संवाद भएको छैन,’ उपप्रधानमन्त्री तथा सरकारी कार्यदलका सदस्य भीम रावलले भने, ँतर, हामी संवाद नै गर्न नसक्ने अवस्थामा पुगेको भने होइन ।’ मध्यस्थकर्तामार्फत वार्ता सुरु गर्ने मनस्थितिमा मोर्चा र सरकार छन् । तर, अविश्वासको वातावरण बढ्दै गएको संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए ।
सरकारी पक्षले मधेसी मोर्चासँग भन्दा भारतसँग ‘नेगोसिएसन’ गरेर मधेस आन्दोलनको बैठान गर्न खोजेको छ । प्रधानमन्त्री केपी ओलीले पनि मधेस आन्दोलन टुंग्याउन विभिन्न माध्यमबाट भारतीय पक्षसँग छलफल गरेका छन् । परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमणका वेला गरेको चारबुँदे प्रस्तावले पनि सरकार दिल्लीबाटै टुंग्याउने रणनीतिमा लागेको पुष्टि हुने मोर्चाका नेताहरूको भनाइ छ ।
सरकारले मोर्चाको आन्दोलन गलाएर टुंगो लगाउने रणनीति पनि लिएको मोर्चाका नेताहरूले बुझेका छन् ।






