प्रवासबाट गुल्मेली पिपलधारावासी युवाहरुको उदाहरणीय काम

12957249_475813662608642_987072618_n[1]

कृष्ण खनाल

गुल्मी-

रोजगारीका लागि विदेशमा रहेका गुल्मीको पिपलधारावासी युवाहरुले आफ्नो गाउँका लागि विकासको उदाहरणीय काम गरेका छन् ।

आफ्नो कमाइको सानो अंश काटेर सदरमुकामदेखि करिब २५ किमि पश्चिममा रहेको पिपलधारा गाविसका युवाहरुले उदाहरणीय काम गरेका हुन् ।

ह्वाट्सएपमा दुई वर्षअघि ‘पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल’ बनाएर विकास अभियान सुरु भएको हो । २०७० साल चैत्र ११ गते ह्वाट्सएपबाट नै ११ सदस्यीय केन्द्रीय तदर्थ समिति बनाएका उनीहरुले २०७१ साल साउन ५ गते जिल्ला प्रशासन कार्यालय गुल्मीमा संस्था दर्ता गरेका थिए ।

संस्थाले छोटो समयमा नै युएई, भारत, मलेसियालगायतका देशमा उपसमिति निर्माण गरिसकेको छ ।

सहयोगी अभियानमा प्रवासमा रहेका गुल्मेलीहरुले १ सय ६० रुपैयाँदेखि ७७ हजार ७ सय ७७ रुपैयाँसम्म उठेको छ । पछिल्लो समय बहराइबाट ३१ हजार, लोकबहादुर खनाल शैक्षिक प्रतिष्ठान काठमाडौंबाट ४० हजार रुपैयाँ, गुल्मी समाज, यूकेबाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष कमल जिसीले जानकारी दिए ।

संस्थाले गत कात्तिक १५ गते पिपलधारामा एम्बुलेन्स खरिद गरेर हस्तान्तरण गरिसकेको छ । पूर्वऊर्जामन्त्री गोकर्ण विष्टको प्रमुख आतिथ्यतामा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

संस्थामा प्रवासी नेपालीसहित विदेशी नागरिकले पनि सहयोग गरेको लन्डन संयोजक रविन महतले जानकारी दिए ।

यसबाहेक आगलागीपीडित पिपलधारा- ९ का पूर्णबहादुर थापालाई ३० हजार, ढाड भाँचिएकी पिपलधारा- ४ का पूर्णबहादुर थापाकी श्रीमतीको उपचारका लागि चौतारीले संस्थागततर्फ २० हजार रुपैयाँ र व्यक्तिगत संकलित एक लाख रुपैयाँ सहयोग गरिएको छ ।

यसैगरि पिपलधारा- ५ का छविलाल घिमिरेको परिवारलाई २० हजार तथा अपांग छोरीको निधन भएका र अन्य सन्तान पनि अपांग रहेका पिपलधारा- ८ का ज्ञानबहादुर थापालगायत अन्य तीन अपांग परिवारलाई १९ हजार रुपैयाँ सहयोग गरिएको महासचिव कृष्ण खनालले जानकारी दिए ।

चौतारीले ०७१ सालदेखि पिपलधारामा एसएलसीमा उत्कृष्ट अंक ल्याउनेलाई नगद ३ हजार रुपैयाँका दरले पुरस्कृत गर्न सुरु गरेको छ ।

चौतारीले भूकम्पपीडित पिपलधारावासी १८ परिवारलाई जनही ६ हजार रुपैयाँका दरले राहत वितरण गरेको छ ।

यसैगरि पिपलधारा- ९ का रमेश परियारको उपचारका लागि संस्थागतरुपमा २० हजार र रमेश परियार बचाउ अभियानका नाममा संस्थाका सदस्य तथा अन्य सहयोगीबाट करिव ३ लाख सहयोग गरिएको छ । यद्यपि, परियारको निधन भइसकेको छ ।

यसबाहेक चौतारीले स्थानीय स्वास्थ्य चौकी, गाविस र सबै वडाका महिला स्वास्थ्य स्वयंसेविकाको घरमा अत्याधुनिक स्ट्रेचर सहयोग गरेको छ भने भ्रष्टाचारविरुद्ध अभियान पनि ग्रामीण क्षेत्रबाटै सुरु गरेको छ ।12957398_475794555943886_1730390890_n[1]