नेपालको संविधान संशोधनको भारतबाट स्वागत

nepal indiaकाठमाडौं- नेपालको संविधान संशोधनको भारतले स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयले आज विज्ञप्ति जारी गरी संविधान संशोधनको स्वागत गरेको हो ।

विज्ञप्तिमा ‘नेपालको संसद्ले पास गरेको दुई संशोधन सकारात्मक विकासको रुपमा हामी सम्मान गछौं र अन्य विषयहरु पनि यसैगरी सम्बोधन गरिनेछ भन्ने हामीलाई विश्वास छ’ भनिएको छ ।

व्यवस्थापिका संसद्को हिजोको बैठकले नेपालको संविधानलाई पहिलो संशोधन गरेको थियो । आन्दोलनरत मधेसी र थारु समुदायका माग सम्बोधन गर्न सरकारले पेश गरेको समानुपातिक समावेशी र निर्वाचन क्षेत्रसम्बन्धी संशोधन विधेयकलाई परिमार्जनसहित संशोधन भएको हो ।

तराई र मधेसमा जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्र बढाउन र राज्यका निकायमा समानुपातिक समावेशीका आधारमा सहभधागिता बढाउने सुनिश्चितता यो संशोधनले गरेको छ ।

समानुपातिक समावेशीसम्बन्धी धारा ४२ र निर्वाचन क्षेत्रसम्बन्धी धारा ८४ र २८४ लाई संशोधन गर्न संविधान जारी भएलगत्तै तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सरकारले असोज २० मा सदनमा विधेयक दर्ता गराएको थियो ।