‘नयाँ शक्ति’को केन्द्रीय परिषद घोषणा

newsaktiकाठमाडौं- बाबुराम भट्टराईको नेतृत्वमा गठन हुन लागेको भनिएको नयाँ राजनीतिक शक्तिले ३५ सदस्यीय अन्तरिम केन्दीय परिषद् घोषणा गरेको छ ।

काठमाडौमा आज एक कार्यक्रम गरी भट्टराईले समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मिलित परिषद्को घोषणा गरेका हुन् । अहिले ३५ सदस्यीय परिषद् घोषणा गरिएपनि यसलाई विस्तार गरी २ सय ६५ सदस्यीय पुर्‍याउने लक्ष्य लिएको उनको भनाई छ ।

परिषद् मा चलचित्र क्षेत्रका नायक सरोज खनाल, नायिका करिश्मा मानन्धर, पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्व स्वास्थ्य सचिव डा. प्रवीण मिश्र, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक गणेश राईलगायत छन् ।

परिषद्ले केही महिनाको गृहकार्यपछि राजनीतिक दस्तावेज तयार गर्ने र त्यसलगत्तै नयाँ पार्टी घोषणा गर्ने भट्टराईले जानकारी दिए ।

परिषद घोषणा कार्यक्रममा उद्योगपति विनोद चौधरी पनि पुगेका थिए । उनले आफू नयाँ शक्तिमा प्रवेश गरेको नभै भट्टराईको अभियानलाई शुभकामना दिन आएको बताए ।

एमाओवादी पार्टी परित्याग गरी नयाँ राजनीतिक शक्ति बनाउने घोषणा गरेका बाबुराम भट्टराईले नयाँ शक्तिको लक्ष्य विकास र संबृद्धि हुने दाबी गरे ।