देशमा दुईवटा अतिवाद हावी हुनाले सङ्कट : सचिव विष्ट

gokarna bistaभक्तपुर- नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले दुईवटा अतिवाद देशमा हावी भएका कारण जनताले अहिलेको सङ्कट भोग्नुपरेको बताउनुभएको छ ।

नेपाल बुद्धिजिवी परिषद् जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको विचार गोष्ठीमा उहाँले भन्नुभयो, “वर्षौँदेखि देशमा विदेशीलाई रिझाएर राज्यसत्ता लिने र टिकाउने अतिवाद र कहिले विदेशीसँग लम्पसार पर्ने त कहिले तिनै विदेशीलाई जिन्दावाद र मुर्दावादको नारा लगाउने अतिवाद हावी हुँदा अहिले जनताले दुःख पाएका हुन् ।”

नेपालले चाहेर पनि छिमेकी देश बदल्न नसक्ने भएकाले अहिले धेरै बोलेर नभई काम गरेर देखाउने बेला आएको बताउँदै उहाँले भन्नुभयो¬˗ “बाह्य हस्तक्षेपलाई यतिखेर पेलेर होइन, परिणाममुखी काम गरेर जवाफ दिनुपर्छ ।”

मधेसको समस्यालाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उहाँले मधेसी मोर्चाको माग गलत हो तर मधेसी जनताको समस्या ठीक हो भनेर जनताको समस्यालाई सम्बोधन गर्न सरकार अग्रसर हुनुपर्ने उहाँको भनाइ थियो ।

भारत र चीनले कुनै पनि परिस्थितिमा नेपाललाई आँखा चिम्लेर सहयोग गर्ने चर्चा गर्दै उहाँले उनीहरुले आफ्नो स्वार्थका लागि मात्रै नेपाललाई सहयोग गर्ने भएकाले नेपालले पनि त्यस्तै नीति बनाउनुपर्ने औँल्याउँनुभयो ।