जेनी भट्टराई
लन्डन ।
‘हरपल आउंछ याद तिम्रो
आसुं र पीडा हांसेको छु
पीडा, पीडा भएनि मनभरि माया बोकेर बांचेको छु…’
गायक दौलत राई अचेल यस्तै पीडा र वेदना पोख्दैछन् तर रियल लाइफमा होइन, आफ्नो पछिल्लो गीत मार्फत । भर्खर रिलिज भएको माथिको गीतको म्यूजिक भिडियो खुब लोकप्रिय भएपछि दौलत गीत भन्दा विपरित दंग छन् ।
‘राम्रो प्रतिक्रियाले उत्साहित छु’, उनले सुनाए । राईको उक्त गीत दोश्रो एल्बममा समावेश छ ।
रामनाथ घिमिरेको रचना, महाराज थापाको एरेन्ज, देवेन्द्र राईको संगीत रहेको उक्त गीतको भिडियोमा प्रज्वल र आसिस्माले अभिनय गरेका छन् । म्यूजिक भिडियो निर्देशन गरेका हुन् बेलायतमै रहेका निर्देशक मिलन चाम्स्ले ।
ब्रिटिश आर्मी पारिवारिक पृष्ठभूमि भएपनि दौलतको पेशा चाहिं गायन भएको छ । झण्डै एक दशक भयो उनले गाउन थालेको । हाल बेलायतस्थित निरमाया रोधीघरमा गाउने उनको पछिल्लो भिडियो चौंथो हो ।
दौलतले अन्जु पन्त, मिलन अमात्य र मल्लिका कार्कीसंग गाइसकेका छन् । हालसम्म डेढ दर्जनजति गीत रेकर्ड भएको उनले जनाए ।
सोलुखुम्बु स्थायी घर भएका दौलत संगीतमै भविष्य खोज्दैछन् ।







