मुस्लिम महिलालाई अङ्ग्रेजी पढाउन बेलायती प्रधानमन्त्रीले दिए दुई करोड ६० लाख युरो

david cameronलन्डन- बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले मुस्लिम महिलालाई अङ्ग्रेजी पढाउनका लागि सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभएको छ– मुस्लिम महिलाहरु आफ्नो अधिकारका लागि लड्न पनि नसकिरहेको यथार्थलाई बुझेर सबैले उनीहरुलाई पढ्ने वातावरणका लागि सहायता गर्नुपर्छ ।

आफूविरुद्धको जातिभेद एवम् अन्य लैंगिक विभेदको बारेमा उनीहरुलाई थाहा नभएका कारण उनीहरुमा भेदभाव बढी भएकोले यसका लागि उनीहरुलाई अङ्ग्रेजी पढाउनुपर्ने बताउनुभयो । अहिले पनि मुस्लिम समुदायमा उनीहरुलाई आफ्ना अधिकारका बारेमा उपेक्षा गरिएको र जसका कारण उनीहरु आफ्नो बारेमा पनि बोल्न सक्ने अवस्थामा नरहेको उहाँको धारणा थियो ।

दि टाइम्स् समाचारपत्रमा उहाँले लेख्नुभएको छ– समाजमा महिलाको पिछडिएको अवस्थाको बारेमा तथ्य बाहिर ल्याउन र महिलामाथि मुस्लिम समुदायमा गरिएका नराम्रा प्रकृतिका नियन्त्रणको बारेमा उनीहरुलाई थाहा दिनु आवश्यक भएको छ । महिलालाई मुस्लिम समुदायले सामाजिक रुपमा एक्लो पारिरहेको र उनीहरुको अधिकारका बारेमा जान्नसक्ने वातावरण पनि नरहेकोले भाषा पढाउनका लागि पहिलो प्राथमिकता दिइएको उहाँको भनाई छ ।

कन्जेरभेटिभ पार्टीका नेता रहनुभएका प्रधानमन्त्री क्यामरुनले आफ्नै प्रयासमा करिब दुई करोड ६० लाख युरो रकम एकान्तमा पारिएका मुस्लिम महिलालाई अङ्ग्रेजी भाषा सिकाउने कामका लागि घोषणा पनि गर्नुभएको छ । उहाँले जबर्जस्ती देशनिकाला भई बेलायतमा पुगेका आप्रवासी मुस्लिम महिलाका लागि अङ्ग्रेजी भाषा सजिलै बोल्न सक्ने बनाउन यो रकमको सदुपयोग गरिने जानकारी पनि दिनुभयो ।

पछिल्लो तथ्याङ्कअनुसार बेलायतमा दशकौँदेखि अप्रवासीका रुपमा बस्दै आएका मुस्लिम महिलाले निकै थोरैमात्र अङ्ग्रेजी बोल्ने गर्छन् वा बोल्नै जान्दैनन् । उहाँका अनुसार यो तथ्याङ्क बेलायतमा बस्दै आएका महिलामध्ये २२ प्रतिशत हो । बेलायतमै रहेका पनि कैयौँ महिलामाथि लैंगिक विभेद गरिएको र उनीहरुलाई मुस्लिम पुरुषले समाजमा एक्लाएका पाइएको उहाँको लेखमा जनाइएको छ ।

त्यसैले यो विभेदका विरुद्ध बोल्नसक्ने अवस्थामा ल्याउनका लागि पनि पहिलो प्राथमिकताका रुपमा भाषालाई रोजिएको जानकारी पनि उहाँको छ ।