अमेरिकाबाट प्रकाशित हुने चर्चित पत्रिका फोर्ब्सले विश्वका शक्तिशाली व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ। फोर्ब्सले विश्वकै पहिलो शक्तिशाली तथा प्रभावशाली व्यक्ति रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई बनाएको छ।
पुटिनले अमेरिकी सन् २०१३ को सूचीबाट राष्ट्रपति बाराक ओबामालाई पछि पार्दै विश्वकै पहिलो प्रभावशाली व्यक्ति बन्न सफल भएका हुन्। फोर्ब्सले निकालेको सूचीमा ओबामा अमेरिकी राजनीतिमा जति कम समयमा चर्चित बने उति नै कम समयमा कमजोर बनेका भनिएको छ ।
रुसी राष्ट्रपति पुटिनले रुसी राजनीतिमा १२ वर्षदेखि प्रभाव र दबाब कायम राख्दै आएका छन् । सन् २०१२ मार्चमा भएको रुसको राष्ट्रपति पदमा पुटिन पुनस् निर्वाचित भएका थिए। तर, ओबामालार्इ भने अमेरिकामा बजेट र ऋण संकटले आएको आर्थिक कमजोर बनाएको फोर्ब्सले उल्लेख गरेको छ।
उता पुटिनले भने अमेरिकी पूर्वगुप्तचर एडवर्ड स्नोडनलाई रुसमा शरण दिएका थिए । स्नोडनले अमेरिकी गोप्य सूचना चुहाएपछि रुसमा शरण लिएका थिए । अमेरिकाले सिरियामा आक्रमण गर्ने खोज्ददा रुसले सिरियामा रासायनिक हतियार नष्ट गर्ने योजना सफल पारेर सिरियामा हुने सम्भावित आक्रमण रोक्न सफल भएको थियो ।
शक्तिशाली ब्यक्तिको सूचीको तेस्रो नम्बरमा चिनियाँ राष्ट्रपति सि जिङ पिङ रहेका छन् । पोप फ्रान्सिस चौथो स्थानमा र जर्मन चान्सलर एंगेला मर्केल पाँचौं नम्बरमा रहेकी छन्। अमेरिकी फेडरल बैंककी गभर्नर जनेट एलेन छैटा नम्बरमा छिन् । विश्वकै धनी माइक्रोसफ्टका मालिक बिल गेट्स सूचीको सातौं नम्बरमा छन् ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन भने शक्तिशाली सूचीको दशौं नम्बरमा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक विश्वका हस्तीको सूचीमा रहँदै पन्ध्रौं नम्बरमा अटाएका छन् ।






