काठमाडौँ- प्रमुख तीन राजनीतिक दल र तराई मधेसमा आन्दोलनरत दलको कार्यदलको शुक्रबारको बैठक पनि चियागफमै सीमित भएको छ ।
मधेस सद्भावना पार्टीका नेता रामनरेश रायले बैठकले कुनै ठोस सहमति र निष्कर्ष ननिकालेको बताए । बैठकमा प्रमुख तीन दलका तर्फबाट सहभागी सदस्यले शीर्ष नेतृत्व तहमा भएको छलफल एवम् प्रगतिबारे आन्दोलनरत पक्षलाई जानकारी गराएको थियो ।
यही माघ ५ गते व्यवस्थापिका-संसद्को बैठक बस्नु अगावै आन्दोलनरत दलसँग सहमति गर्ने र लामो समयसम्म मुलुकलाई समस्यामा राख्न नहुनेमा दुवै पक्ष सकारात्मक देखिएका छन् । यद्यपि मधेसवादी दलले भने सीमाङ्कनको विषयमा ठोस धारणा ल्याउन प्रमुख तीन दललाई पुन आग्रह गरेको थियो ।
बैठकमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावल, एकीकृत नेकपा(माओवादी)का महासचिव कृष्णबहादुर महरा, नेपाली काँग्रेसका नेता महेश आचार्य सहभागी हुनुहुन्थ्यो भने मोर्चाका तर्फबाट तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी, सङ्घीय समाजवादी फोरमका तर्फबाट डा मङ्गलसिद्धि मानन्धर, तराई मधेस सद्भावना पार्टीका तर्फबाट नेता रायको सहभागिता थियो ।






