काठमाडौं- १३ औं महाधिवेशनको नजिक आइपुग्दा नेपाली कांग्रेसमा गुट तानातान सुरु भएको छ ।
महाधिवेशनमा टिकट खोज्दै एक अर्को गुटमा जाने/आउनेक्रम सुरु भएको छ । संस्थापनमा रहेका मानबहादुर विश्वकर्मा, चन्द्र भण्डारी, श्याम घिमिरे देउवा पक्षतिर आइसकेका छन् । यी नेताहरू सर्लाही, महोत्तरी, उदयपुर, मोरङ, सुनसरी, सिन्धुली, काभ्रेमा महाधिवेशनकेन्द्रित तयारी गरी काठमाडौं फर्किएका छन् ।
संस्थापनतिर एकसेएक नेता पदाधिकारीका दाबेदार छन् । उनीहरुले पनि संस्थापनमा टिकट नपाए गुट परिवर्तनको तयारी गरेका छन् । तर, सबै गुट परिवर्तन गर्न सक्ने अवस्थामा छैनन् ।
डा. शशांक कोइराला, सुजाता कोइराला, नरहरि आचार्य, डा. रामशरण महत, महेश आचार्य, आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडू, दिलबहादुर घर्तीलगायतका नेताहरू संस्थापन छाड्न नसक्ने नेताहरू हुन् । सुजाता र डा. महतले जतिसुकै असन्तुष्टि जनाए पनि अन्तिममा संस्थापनलाई नै साथ दिने विश्वास यो समूहको छ ।
कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पुस महिनाभर गुटगत खेलोफड्को भइरहने बताए ।
देउवा पक्षकी कोषाध्यक्ष चित्रलेखा यादवलाई आफूतिर तान्ने तयारी संस्थापनले गरेको छ ।






