काठमाडौं–निर्वाचन आयोगले मतगणनको नतिजा छिटो उपलब्ध गराउने उद्देश्यले राजनीतिक दल तथा उम्मेदवारहरूको समन्वयमा आवश्यक मतगणना टोली गठन गरी मतगणनाको काममा तिव्रता दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जनाएको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतगणना कार्य छिटो गरी आम मतदाताले मतदान मार्फत प्रकट गरेको अभिमतको नतिजा छिटो भन्दा छिटो प्रकाशन गर्न सम्बन्धित सबै समक्ष आव्हान गर्दै मतगणना कार्य छिटो सम्पन्न गर्न आवश्यक सहयोग पु-याउन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि तथा सम्बद्ध सबै सरोकारवालाहरू समक्ष निर्वाचन आयोग पुनः आग्रह गरेका छन् ।
आयोगलाई प्राप्त विवरण अनुसार वझाङको काँडा र मस्टा गाँउपालिका, बाजुराको पाण्डवगुफा गाँउपालिका, संखुवासभाको चिचिला र सिलिचोङ गाँउपालिका र सोलुखुम्बुको लिखुपिके गाँउपालिका गरी ६ स्थानीय तहको परिणाम प्राप्त भएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार ताप्लेजुङ, सोलखुम्बु, गुल्मी, दाङ, कैलाली, बझाङको १–१ तह र अछामको २ तह गरी ८ स्थानीय तह बाहेक सबै स्थानीय तहको मतगणना कार्य जारी रहेको छ ।
ताप्लेजुङको एक स्थानमा मतपेटिका आउन बाँकी रहेको र अन्य जिल्लामा राजनीतिक सहमति हुने प्रक्रियामा रहेकोले मतगणनामा ढिलाई भएको उनको भनाई छ ।
यसैबीच असार १४ गते मतदान स्थगित भएका रुपन्देही जिल्लाको कोटहिमाही गाँउपालिका वडा नं. १ र बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ३ को पाण्डु मा.वि. मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको आयोगले जनाएको छ ।






