
काठमाडौं- उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान संशोधन, नेपालको विकास प्राथमिकता बारेमा कूटनीतिक समुदायलाई जानकारी गराएका छन् ।
मन्त्रालयले डेढ साता अघि नै पत्राचार गरेर ब्रिफिङमा बोलाएको भएपनि भारत र बेलायतको राजदूतको उपस्थित थिएनन् । नेपाल सन्दर्भमा भारतको बोलीलाई साथ दिएको बेलायत सहित भारतको राजदूतको अनुपस्थितिलाई मन्त्रालयले संयोगको रुपमा लिएको छ ।
भारतीय राजदूत दिल्ली रहेको भन्दै उप नियोग प्रमुख विनयकुमार उपस्थित भएका थिए । बेलायतको तर्फबाट भने जानकारी मन्त्रालयले पाएको छैन् ।
परराष्ट्रमन्त्रीले मंगलबार परराष्ट्र मन्त्रालयमा कूटनीतिक समुदायलाई बोलाएर मुलुकको पछिल्लो अवस्था, शान्तिप्रक्रियाको निचोड, मुलुकको वर्तमान प्राथमिकता र आफ्नो विदेश भ्रमण बारे जानकारी गराए । उनले संविधान लागू भइसकेको अवस्थाबारे जानकारी दिदैं यसलाई पूर्ण रुपमा लागू गराएर अघि बढ्न जनताको साथै मित्र राष्ट्रहरुको साथ, सहयोग र सदभाव आवश्यक रहेको बताए ।






