प्रधानमन्त्रीलाई उखान र अडान नछाड्न राष्ट्रकविको सुझाव !

madhav prasad ghimireकाठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति बिथोलिएको र समाज निदाएको बेला स्रष्टाहरुले जागेर समाजलाई उठाउन भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

वरिष्ठ साहित्यकार, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ तथा साझा प्रकाशनका पदाधिकारीको सम्मानमा साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित रात्रिभोजमा उहाँले नेपाली साहित्य र सिर्जनालाई विश्व रङ्गमञ्चमा स्थापित गराउन आफूले मनभित्रैदेखि संरक्षकको भूमिका खेल्ने विश्वास दिलाउनुभयो । प्रधानमन्त्री प्रतिष्ठानको प्रमुख संरक्षक रहने व्यवस्था छ ।

‘‘आदिकवि भानुभक्त आचार्यदेखि राष्ट्रकवि माधवप्रसाद घिमिरेसम्मका मूर्धन्य स्रष्टाको नाम लिँदै उहाँले बरु प्रधानमन्त्रीको नाम बिर्सने स्थिति होला तर त्यस्ता स्रष्टाहरुको नाम इतिहासले बिर्सने छैन्’’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले लोकतन्त्रलाई झगडालु व्यवस्थाका रुपमा नभई समूचित र समुन्नत प्रणालीका रुपमा स्थापित गर्न पनि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

आर्थिक रुपमा जर्जर बनेको साझा प्रकाशनलाई एकपटकका लागि सहयोग गरी बचाउने काम गरिने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले प्रधानमन्त्री ओलीलाई आफ्नो उखान र अडानको शैली नछाड्न आग्रह गर्दै सबै नेपाली मिलेर राष्ट्रका निम्ति एकजुट हुनुपर्ने बताउनुभयो ।

संस्कृतिविद् सत्यमोहन जोशीले साहित्यबाटै देश उठाउन सकिने र यसले नै मेची–महाकालीका जाति, भाषा र संस्कृतिबीच एकताको आधार तय गर्ने धारणा राख्नुभयो ।

प्रतिष्ठानका पूर्व उपकुलपति बैरागी काइँलाले चुँडिएका देशबासीको मन गाँस्नका लागि साहित्यले रसायनको काम गर्ने भएकाले प्रधानमन्त्रीलाई साहित्यकारको सम्मानको परम्परा कायम राख्न सुझाव दिनुभयो ।