नवलपरासी- श्रम रोजगार तथा वाणिज्य मन्त्री दीपक बोहराले अहिलेको संविधानलाई नकारात्मक होइन सकारात्मक तरिकाले प्रचारप्रसार गरिनुपर्ने बताउनुभएको छ ।
‘जनताको संविधान जनताकै माझमा’ भन्ने नारासहित राष्ट्रव्यापी प्रचार अभियान कार्यक्रमलाई सोमबार नवलपरासीमा सम्बोधन गर्दै उहाँले ९० प्रतिशत सांसदले अनुमोदन गरी पारित गरेका संविधानले सबैको हकअधिकार समेटेको छ र केही त्रुटि भए त्यसलाई संविधान संशोधनमार्फत सच्याउन सकिने छ भन्नुभयो ।
तराईका जनतालाई अधिकारविहीन बनाएको र तराईका जनताको अधिकार खोसिएको भनी नकारात्मक प्रचार गरिएको हुँदा यस संविधानलाई जनताको माझ पुर्याएर नकारात्मक भ्रमको जालोलाई फार्न वर्तमान सरकार संविधानका बारेमा राष्ट्रव्यापी प्रचार अभियान कार्यक्रममा लागेको मन्त्री बोहराले बताउनुभयो ।






