पोर्चुगल- गैरआवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेले भारतको अघोषित नाकाबन्दी वैशाख १२ गतेको भूकम्पकोभन्दा पीडादायी रहेको बताउनुभएको छ । भूकम्पले तहसनहस भएको मुलुकमा भारतको नाकाबन्दीले ठूलो चोट पुर्याएको बताउनुभयो ।
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलले ३ जनवरी आइतबारको दिन राजधानी लिस्वनको हिमालयन रेष्टुरेन्टनमा गरेको अन्तरक्रिया कार्यक्रममा घलेले भारतलाई असल छिमेकीको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष घलेले भारतले गरेको अघोषित नाकाबन्दीको प्रवाह नगरि अनेकौ दु:ख कष्ट सहेर आफुलाई दोस्रो कार्यकालको लागि विजय गराउने सम्पूर्ण एनआरएनलाई धन्यवाद व्यक्त गर्नु भयो ।
घलेले एनआरएनएको पहलमा करिव २ करोड बरावरको औषधि नेपाल पठाएता पनि नेपाल सरकारको उदासिनताका कारण वितरण गर्न नसकेको दुखेसो पोख्नुभयो ।
एनआरएनए अध्यक्ष घलेले पोर्चुलमा नेपाली दुतावास नहुदा धेरै नेपालीले दु:ख पाएको र यो समस्याको हल गर्न आफुले पहल गर्ने बताउनुभयो ।
कार्यक्रमा जमुना घले सहित गैरआवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष भीम कमल ‘केसी’, पोर्चुगलका लागि अबैदानिक बाणिज्यदुत मकर हमाल, नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, एनआरएनए पोर्चुगलका आईसीसी सदस्य रमेशकुमार गुरुङ्, पूर्वआईसीसी सदस्य सूर्य हमाल, विभिन्न संघ सङ्गठनमा आबद्ध दाजुभाइ तथा दिदी बहिनी, पत्रकार लगायत नेपाली ब्यवसायिहरुको उपस्थित थियो ।
कार्यक्रमा गैरआवासिय नेपाली संघ पोर्चुगलका अध्यक्ष केसीले एनआरएनए सम्बन्धि केहि प्रश्न, गुनासो भए घलेसँग सोध्नको लागि उपस्थित सबैलाई आग्रह गर्नु भएको थियो ।






