
काठमाडौं- मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई निकास दिने प्रतिवद्धता जनाएका प्रमुख दलका नेता र मधेसी मोर्चाका नेताहरू सबै उपत्यका बाहिर गएपछि सम्वाद र छलफलको विषयमा ओझेलमा परेको छ ।
केही दिनयता मधेसी मोर्चासँग प्रमुख दलका नेताहरूको औपचारिक वार्ता हुन सकेको छैन । संयुक्त वार्ताको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीलाई दिइएको थियो । तर ओलीले बैठक बोलाउनु भएको छैन ।
प्रधानमन्त्री आली विराटनगर हुँदै गृह जिल्ला झापा लाग्नुभएको छ । आज उहाँले झापामा हुने एमालेको कार्यक्रममा सहभागिता जनाउनु हुनेछ ।
कांग्रेसका सभापति सुशील कोइराला पनि ३९औँ राष्ट्रिय मेलमिलाप दिवसको कार्यक्रममा सहभागी हुन पोखरा हुँदै स्याङ्जा लाग्नुभएको छ । कांग्रेसका महामन्त्री प्रकाशमान सिंह पनि चितवनमा हुनुहन्छ ।
मधेसी मोर्चाका नेता तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव जनकपुरमा हुनुहुन्छ । त्यसै गरी सद्भावना पार्टी सहअध्यक्ष लक्ष्मणलाल कर्ण गृह जिल्ला पर्सामा हुनुहुन्छ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनमा उपचार गराइरहनुभएको छ ।






