सहमति नभए माघ ८ गतेभित्र संविधान हुँदैन : अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री एवम् एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमतिका लागि सबै राजनीतिक दल दृढताका साथ इमान्दारीपूर्वक लाग्ने हो भने माघ ८ गतेभित्रै संविधान जारी हुनसक्ने बताउनुभएको छ ।
धादिङ्बेसीमा आयोजित मध्यमाञ्चल क्षेत्रीय भेला तथा चौथो धादिङ् महोत्सवको आज समापन गर्दै अध्यक्ष दाहालले त्यसका लागि बाह्रबुँदे समझदारी र विस्तृत शान्ति सम्झौतालाई पनि कसैले बिर्सन हुँदैन र त्यसकै आधारमा सहमति कायम हुनुपर्छ भन्नुभयो ।
धादिङमा खुलेका दुई उद्योग र प्रस्तावित जलासययुक्त बुढीगण्डकी जलविद्युत् परियोजनाको काम सम्पन्न भएपछि जिल्लाको मुहारै फेरिने विश्वास उहाँले प्रकट गर्नुभएको थियो ।
वरिष्ठ महिला उद्यमी कल्पना अधिकारीको अध्यक्षतामा आयोजित समापन समारोहमा पूर्वमन्त्री कल्पना धमला, सभासद् गुरुप्रसाद बुर्लाकोटी, पूर्व सांसद एवम् नेका धादिङका सभापति रामनाथ अधिकारी, पूर्व जिविस सभापति खेमप्रसाद लोहनी, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि तथा ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाललगायतका प्रतिनिधिले महोत्सवको महत्वबारे बोल्नुभएको थियो ।