काठमाडौं– राष्ट्रियताका सन्दर्भमा अडान लिएपछि उचाईमा चढेका प्रधानमन्त्री केपी शर्मा ओलीको साख गिर्न थालेको छ ।
मन्त्रालय फुटाउने, जम्बो मन्त्रिपरिषद् बनाउने र भूकम्पपीतिको राहत र पुनर्स्थनामा तदारुकता नदेखाएपछि प्रधानमत्री ओली लगातार आलोचित भएका छन् ।
एमाले सचिव गोकर्ण विष्टले पनि सरकारको आशामा तुषारापात भएको बताए । ‘आज मुलुकले जुन संकट व्यहोरेको छ, जनताले जसरी कष्ट उठाउनुपरेको छ, यस्तो बेलामा मन्त्रिमण्डल सानो बनाएरै व्यवस्थापन गर्नुपर्ने हो,’ उनले भने, ‘तर, यसको ठीक विपरीत मन्त्रिपरिषदको आकार र मन्त्रीहरुको संख्या ठूलो बनाएर बिभिन्न दलहरुलाई ल्याउने जुन प्रयास उहाँले गर्नुभयो, त्यसले गलत सन्देश दिएको छ । यो अनावश्यक र अलोकप्रिय काम हो, यस्तो गर्ने बेला अहिले थिएन ।’
ओलीले काम गर्न नसकेको भन्दै नेकपा संयुक्तले समर्थन फिर्ता लिइसकेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पनि बैठकमा छलफल गर्ने तयारी गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकमा सरकारका काम कारवाही पनि छलफलको मुख्य एजेण्डा तय गरिएको छ ।
एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकारको कार्यशैली चित्तबुझ्दो नभएको भन्दै उनले सरकारको यस्तै रबैया जारी रहे सरकार ढाल्न १०० दिन पनि कुर्न नसक्ने बताए ।






