पर्यटकीय पूर्वाधारमुखी बजेट

nightbanduktourकाठमाडौँ, १५ जेठ । मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि सरकारले विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गर्नुभएको आव २०७३÷०७४ को बजेट वक्तव्यमा खासगरी विमानस्थल, पर्यटन पूर्वाधार र संस्कृति प्रवद्र्धनका कामलाई तीव्र गतिमा अघि बढाउने भएको हो ।

पर्यटकीय पूर्वाधारका कार्यलाई तीव्रता दिँदै सरकारले अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई आवश्यक बजेट विनियोजन गरेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई २०७४ साल माघदेखि सञ्चालनमा ल्याउने गरी निर्माण कार्यलाई तीव्रता दिइने र त्यसका लागि रु सात अर्ब २२ करोड बजेट विनियोजन गरिएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य आगामी चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सरकारले रु पाँच अर्ब बजेट व्यवस्था गरेको छ ।

बजेट वक्तव्यअनुसार आगामी आवभित्र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गाप्राप्ति र सीमाङ्कनको कार्य सम्पन्न गर्न रु एक अर्ब ५० करोड विनियोजन गरिएको छ ।