मोरङ- पूर्वाञ्चल आइटिएफ तेक्वान्दो एसोसिएसनले भारतको नयाँ दिल्लीमा सम्पन्न छैटौँ अन्तर्राष्ट्रिय मार्सल आर्ट विश्व प्रतियोगितामा नेपालबाट सहभागी भई पदक हासिल गर्न सफल तीन खेलाडीलाई आज विराटनगरमा सम्मान गरेको छ ।
सम्मानित हुनेमा अनामिका राई, निर्मला श्रेष्ठ र दिलन राई हुनुहुन्छ । पूर्वाञ्चलबाट छनोट भएर प्रतियोगितामा सहभागी हुनुभएकाहरूले गत मङ्सिर १६ देखि २० गतेसम्म भएको मार्सल आर्टको तेक्वान्दोमा एक रजत र दुई कास्य पदक जित्न सफल हुनुभएको थियो ।
राईले महिला ६४–७१ केजी तौल समूहमा रजत पदक, श्रेष्ठले महिला ४४–५१ केजी तौल समूहमा कास्य र राईले पुरुष ५७–६४ केजी तौल समूहमा कास्यपदक हासिल गर्नुभएको थियो । पदक विजेतालाई पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रवीन नगरकोटीलगायतले सम्मानपत्र दिनुभएको थियो ।






