बेलायतले भन्यो- नयाँ संविधान नेपालको इतिहासमा कोशेढुङ्गा सावित

लण्डन । सभामुख ओनसरी घर्ती र नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा सभामुख घर्तीले बेलायतले लामो समयदेखि नेपालको विकास निमार्णमा सहयोग गरेको स्मरण गर्दै विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा बेलायत सरकारबाट महत्वपूर्ण सहयोग हुने आशा व्यक्त गर्नुभयो ।
उहाँले नेपाल र बेलायतबीचको आर्थिक, सामाजिक र राजनीतिक सम्बन्ध प्राचिनकालदेखि नै रहेको स्मरण गर्दै नेपाल र बेलायतको संसद सदस्य भ्रमणको आदनप्रदानलाई निरन्तरता दिँदै दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्नुपर्ने विचार व्यक्त गर्नु भयो ।
बेलायत सरकारले नयाँ संविधानको स्वागत गरेकोमा खुसी र आभार व्यक्त गर्दै सभामुख घर्तीले नेपाल र बेलायती संसदबीचको सम्बन्धलाई आफ्नो कार्यकालमा अझ प्रगाढ बनाउन आफू उत्सुक रहेको उल्लेख गर्नु भयो ।
सो अवसरमा राजदूत रिचार्डले घर्तीलाई सभामुख पदमा निर्वाचित भएकोमा बधाई र शुभकामना व्यक्त गर्दै उहाँको नेतृत्वमा दुई देशबीचको आपसी सहयोग र मित्रता बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको संसद सचिवालयले जनाएको छ ।
सो अवसरमा राजदुतले नेपालको नयाँ संविधानको स्वागत गर्दै संविधान निर्माण नेपालको इतिहासमा कोशेढुङ्गा सावित भएको विचार व्यक्त गर्नुभयो ।
उहाँले नेपालमा परेको भूकम्पको महाविपत्तिका बेला आठ करोड पाउन्ड जम्मा गरी भूकम्पपीडितलाई पठाएको जानकारी गराउँदै जनतालाई राहत प्रदान गर्न र पुनःनिर्माणमा सहयोग गर्न बेलायत तयार रहेको बताउनु भयो ।
उहाँले बेलायत र नेपालबीचको कूटनीतिक सम्बन्धको २०० औं वर्षगाठका अवसरमा नेपालको संसदीय टोलीलाई भ्रमणका लागि बेलायतले निम्तो दिने तथा नेपालको संसद र बेलायतको संसदबीच भ्रमण आदानप्रदान गर्दै लैजानुपर्ने र यसले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने धारणा व्यक्त गर्नुभयो ।
संसदमा पेस भएको पुनःनिमाणको विधेयकसहित अन्य विचाराधिन विधेयकबारेसमेत राजदूतले चासो राख्नुभएको थियो । रासस