गुल्मीमा एकैघरका दुई बालकको रहस्यमय मृत्यु,सौतेनी आमा पक्राउ

गुल्मी । गुल्मीको हाडहाडे गाविसमा एकै घरका दुई बालकको रहस्यमय मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा हाडहाडे गाविस–९ स्थित नरेन्द्र पुनका ५ वर्षीय र ७ वर्षीय छोरा मनिष पुन र अनिश पुन रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आज बिहान ९ बजे स्थानीय छिमेकीले प्रहरीलाई घटनाका बारेमा जानकारी दिएपछि इलाका प्रहरी कार्यालय पुर्कोटले मृतक बालककी सौतेनी आमा २१ वर्षीया शान्ता पुनलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।gulmi_28[1]

“सुरुमा विद्युत्को करेन्ट सर्ट भई बालकको मृत्यु भएको भन्ने जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेको हो, त्यहाँ पुगेपछि घटनाको प्रकृतिको आधारमा सौतेनी आमालाई नियन्त्रणमा लिएका छौँ”, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीले भन्नुभयो, “तर घटना अझै रहस्यमय छ” । मृतक बालककी आमा अर्कैसँग दोस्रो विवाह गरी गएपछि नरेन्द्रले शान्तालाई कान्छी श्रीमतीका रुपमा भित्र्याएका थिए । मृतकका बाबु नरेन्द्र पुन भने हाल रोजगारको सिलसिलामा विदेशमा रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।