चितवन- राजधानी काठमाडौँ प्रवेश गर्ने महत्वपूर्ण मार्गका रुपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार गर्ने कार्य इन्धनको अभाव भएपछि झन्डै दुई महिना यता ठप्प रहेको छ ।
सडकलाई तीन भागमा विभाजन गरी तीन ठेकेदार समूहलाई सन् २०१७ को अप्रिलसम्म सम्पन्न गर्ने गरी गत अप्रिलमा ठेक्का सम्झौता गरिएको थियो ।
नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवाहन परियोजनामार्फत विश्व बैंकको रु दुई अर्ब ९० करोडको लगानीमा निर्माण थालिएको हो ।
परियोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार तीन वटा साइडमा १३ वटा स्काभेटर र २५ वटा टिपर नियमित सञ्चालनमा थिए । दैनिक तीन हजार ५०० लिटर डिजेल ती उपकरणलाई आवश्यक पर्ने भए पनि इन्धन नै नभएपछि काम रोकिएको छ ।
नियमित काम भएको भए हालसम्म १४ प्रतिशत काम सम्पन्न हुने भए पनि ३.५ प्रतिशत मात्र काम भएको सूचना अधिकारी खनालले बताउनुभयो ।






