मोर्चासँग सहमति भएपछिमात्रै ‘संविधान संशोधन’

all partyकाठमाडौं- सत्तारूढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस व्यवस्थापिका-संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई मधेसवादी दलको सहमतिमा नै पारित गर्न तयार भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको बैठकमा वार्ता र संवादका आधारमा तराई मधेसमा देखिएको समस्यालाई समाधान गर्ने र एकमत बनाएर अगाडि बढ्ने सहमतिसमेत भएको छ ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले गत असोज २० गते सदनमा संविधानको पहिलो संशोधन विधेयक दर्ता गरेको थियो । सो संशोधन विधेयकमा समावेशी, समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर्ने, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण गर्नेलगायतका विषय समेटिएका छन् ।

यद्यपि मधेसी मोर्चामा आबद्ध दलले भने सो संशोधन प्रस्ताव अपूरो र अधुरो रहेको भन्दै आफूहरुको असहमति रहेको बताउँदै आएका छन् । उनीहरुले सीमाङ्कनको विषयमा प्रस्ट खाका नआइकन संविधान संशोधन गरिए पनि आफूले स्वीकार नगर्ने अडान राख्दै आएका छन् ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले आन्दोलनरत दलसँग छुट्टाछुट्टै छलफल गर्ने निर्णय गरिएको बताए । उनले कांग्रेसको सरकार रहँदा प्रस्तुत भएको संविधान संशोधन विधेयकलाई अगाडि बढाउन मधेसी मोर्चासँग छलफल गर्ने र त्यसमा केन्द्रित रहेर छलफल गर्ने निष्कर्ष निकालिएको जानकारी दिए ।