नाकाबन्दीविरुद्ध राष्ट्रसंघ फेरि बोल्यो

Un-ban-ki-moonकाठमाडौं- भारतको दुई महिनादेखिको नाकाबन्दीविरुद्ध राष्ट्रसंघले फेरि आवाज उठाएको छ ।

संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले नेपाल भारत सीमामा अत्यावश्यक सामानको ओसारपसार अवरुद्ध जारी रहेकोमा गहिरो चिन्ता ब्यक्त गरेका छन्।

‘नेपाल भारत सीमामा अत्यावश्यक सामानको आवागमनमा देखिएको अबरोध प्रति महासचिवले बढ्दो चिन्ता ब्यक्त गर्नु भएको छ, उहाँ जीवन बचाउन आवश्यक औषधिको बढ्दो अबरोध र तोडफोडका घटना र मानवीय सहायताको काममा परिरहेको असरले चिन्तित हुनु भएको छ,’ बानका तर्फबाट प्रवक्ताले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

सबै पक्षलाई लचकता अपनाई आफ्ना असहमतिलाई शान्तिपूर्ण माध्यम बाट सुल्झाउन पनि बानले आग्रह गरेका छन् । लोकतान्त्रिक, समावेशी, शान्तिपूर्ण र सम्बृद्ध भबिष्य बनाउने नेपालको प्रयासमा संयुक्त राष्ट्र संघको सधै सहयोग रहने पनि वानले दोहोर्‍याएका छन् ।

वक्तब्यमा भनिएको छ, ‘उहाँले सबै पक्षलाई यो अबरोध बिना बिलम्ब हटाउन आग्रह गर्नु भएको छ साथै नेपालको निर्वाध पारवहन अधिकार रहेकोमा जोड दिनु हुन्छ।’ वानले वार्ता, अहिंसा, भेला र प्रदर्शन गर्न पाउने स्वतन्त्रता तथा शान्तिपूर्ण विरोधको सम्मानका लागि जोड दिएका छन्।