काठमाडौं- उदाउँदो सूर्यलाई अर्घ्य दिएसँग छठ पर्व समापन भएको छ ।
सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको हो ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आइतबारदेखि सुरु भएको थियो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ ।
यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुन्छ ।
मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो ।
आजका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि काठमाडौँ उपत्यकाका गौरीघाट, कमलपोखरी, रानीपोखरी, थापाथलीलगायत वाग्मती र विष्णुमती नदी किनारका साथै तालतलैयामा भक्तजनको भिड लागेको थियो ।






