शिव भण्डारी
लन्डन । गैर आवासीय नेपाली संघ, बेलायत (एनआरएनए यूके) ले करिब एकसय जना सल्लाहकारहरु मनोनित गरेर फेरि जगत हंसाएको छ । सम्भवतः विश्वमै यति धेरै सल्लाहकार मनोनित गरिएको यही संस्था पहिलो होला ।
अघिल्लो कार्यसमितिको छताछुल्ल विवादले विश्वभर नकारात्मक सन्देश फैलिएको धेरै समय बित्न नपाउंदै संघले यसपटक विवाद त ल्याएन तर सबैलाई रिझाउने नाममा सल्लाहकार खोजी खोजी टिपेर अर्को गाइजात्रा भने देखाएको छ ।
यति विघ्न सल्लाहकार किन ल्याइएको भन्ने प्रश्नमा अध्यक्ष मुछेत्र गुरुङ नेपाल हाउस बनाउने संघको आगामी महत्वाकांक्षी प्रोजेक्टमा सबैलाई समेट्न गरिएको बताउंछन् । हो, बेलायतमा नेपाल हाउस बनाउने योजना आफैंमा प्रशंसनीय छ । बेलायतमा नेपाली बढिरहंदा नेपाल हाउस बने सबैले त्यसको उपभोग गर्न पाउनेछन्, अपनत्वको अनुभूति गर्न सक्छन् । तर, कुनै योजना अघि सार्दैमा संघभित्रै भद्रगोल हुने गरि सल्लाहकार नियुक्ति आवश्यक थिएन । यस्ता गौरवका योजना अघि सार्दा नेपालीहरु सबैलाई मन देखि नै स्वतस्फूर्त काम र सहयोग गर्ने भावना जागृत हुनुपर्छ न कि केही दिएर वा फकाएर ।
जम्बो सल्लाहकार समिति देखेर कार्यसमितिकै केही पदाधिकारी र सदस्यहरु अहिले आफ्ना सल्लाहकारहरु चिनिएन भनेर मजाक गर्दैछन् । हुन पनि टोल टोल बाट खोजी खोजी मान्छे छिराइएको छ । कहिल्यै नाम नसुनिएका, संघको उद्देश्य र भिजन नबुझेका अनि समाजसेवा भनेपछि पहिल्यै बहना बनाएर भाग्ने जमातको हालीमुली देखिन्छ यस पटक । ति सल्लाहकार कुनै कार्यक्रममा बोलाउन परे नाम कसैले सम्झन नसक्ने स्थिति छ । सल्लाहकार जस्तो गरिमामय पद त्यति सजिलोसंग बांड्न हुने थिएन । सल्लाहकारले त केही रचनात्मक सल्लाह सुझाव दिने हो तर यो कार्यसमितिले नेपाल हाउसमा पैसा हाल्छन् भनेर सल्लाहकार बनाएको छ । धन्न योगेन क्षेत्रीको पालामा जस्तो जनही तीनसय पाउण्ड दिएर सल्लाहकार नियुक्त गरिएको यस पटक सुनिएन ।
अध्यक्ष मुछेत्र गुरुङ स्वभावैले सालिन र इमान्दार मानिन्छन् । उनमा केही गर्ने जोस पनि छ । तर, उनको सोझोपनको फाइदा उठाएर अरुले संघलाई आफ्नो पेवा बनाउन खोजिरहेको आभास हुन्छ ।
पछिल्लो अधिवेशनमा पनि उम्मेदवार दिएका जति सबै र सदस्य समेत नबनेकालाई कार्यसमितिमा टिका लगाएर पद बांडफांड गरियो । विवाद साम्य पार्ने वहानामा त्यो काम भएको थियो । त्यसलाई बेलायतवासी नेपालीले विवाद मिल्छ भने ठीकै छ भन्ने रुपमा लिए । तर, अहिले फेरि सल्लाहकार नियुक्तिमा गाइजात्रा गरेर संघले नयां नजिर स्थापना गरेको छ एनआरएनएका विश्वका अन्य ७१ शाखामाझ ।







