क्यामरन र मोदीको संयुक्त विज्ञप्ति आपत्तिजनक: कुटनीतिक विज्ञ

bigya

२९ कात्तिक, काठमाडौं । नेपालको संविधानका विषयमा बेलायत र भारतका प्रधानमन्त्रीले संयुक्त विज्ञप्तिमार्फत गरेको टिप्पणी आपत्तिजनक रहेको विदेश मामला विज्ञहरुले बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका क्रममा जारी गरिएको विज्ञप्तिमा नेपालको संविधानमाथि टिप्पणी गरिएको थियो ।

कुटनीतिक मामला विज्ञ एवं पूर्वराजदूत डा. भेषबहादुर थापाले  भने, ‘बेलायतजस्तो परिपक्व देशले किन भारतको लहैलहैमा लागेर यसो गर्‍यो भन्ने मैले बुझ्न सकेको छैन ।’

बेलायतले नेपालको संविधानलाई पहिल्यै जारी भइसकेको सन्दर्भमा अहिले आएर भारतको बहकाउमा लाग्नु अशोभनीय कुरा भएको थापाको कथन छ ।

नेपालकै कमजोरी छ : पाण्डेपरराष्ट्रविद रमेशनाथ पाण्डे भने यो अवस्था आउनुमा नेपालकै कमजोरी रहेको बताउँछन् । देशभित्र यति ठूलो मानवीय संकटको विषयमा यथार्थ जानकारी सरकारले अन्तर्राष्ट्रिय समुदायलाई दिन नसकेको पाण्डेको प्रतिक्रिया छ ।

उनले भने, ‘नेपालले दौत्य सम्वन्ध स्थापना गरेको पहिलो देश हो, बेलायत जसको सार्वभौमिकता जोगाउनलाई अनगिन्ती नेपालीहरुको रगत बगेको छ, अहिले पनि त्यो देशको सुरक्षा नेपालीहरुले सम्हालेर राखेका छन् । त्यस्तो देशलाई नेपालको वर्तमान अवस्था र नाकाबन्दीको नेपालले बुझाउन सकेको रहेनछ ।’

सरकारको प्रतिक्रिया आउँछ : परराष्ट्र प्रवक्ता

यसैवीच सरकारले भारत र बेलायतबाट जारी संयुक्त वक्तव्यमा गरिएको टिप्पणीबारे आधिकारिक प्रतिक्रिया जनाउने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले दुई देशबीचको वार्तामा क्षेत्रीय मुद्दाहरु उठाइने प्रचलन रहे पनि नेपालको संविधानका विषयमा गरिएको टिप्पणी सहज नरहेको बताए ।

‘यसमा सरकारको तर्फबाट औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ,’ उनले भने ।