भारतीय हस्तक्षेपविरुद्ध लड्ने विप्लब माओवादीको घोषणा

काठमाडौ, २२ भदौ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको युवा भातृ संगठन राष्ट्रिय युवा जनस्वयम् सेवकले नाकाबन्दीमार्फत भारतले नेपाली राजनीतिमा गर्न खोजिरहेको हस्तक्षेपको विरुद्धमा देशब्यापी रुपमा भण्डाफोर अभियानको घोषणा गरेको छ ।
संगठनले आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म दुई महिना पूर्व मेचीदेखि पश्चिम महाकालीका तराईका जिल्ला र प्रमुख शहरहरुमा यो अभियान सञ्चालन हुने जानकारी दिएको हो ।
सो संगठनले नेपाल भारत सीमा क्षेत्रमा सीमा सुरक्षा बल गठन गरेर परिचालन गर्दै त्यसको लागि सरकारले आवश्यक ठाने ६ महिनासम्मको लागि एक लाख युवा परिचालन गर्न समेत आफू तयार रहेको स्पष्ट पारेको छ ।
त्यसैगरी औषधी र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारसँग माग गर्दै कालाबजारी, माफियातन्त्र, दलालीकरण र भ्रष्टाचार विरुद्ध कडा कार्यक्रम गर्ने घोषणा गरेको छ ।