भक्तपुर–सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले प्रहरी प्रमुखको नियुक्ति न्यायलयको विषय नभएको भन्दै सरकारको बचाउ गरेकी छन् । सरकारले आफ्नो कार्यकारी अधिकार प्रयोग गरेर नियमसंगत ढंगमा डिआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गरेको उल्लेख गर्दै उनले प्रहरी प्रमुखको नियुक्ति न्यायलय वा अरु कुनै आयोगको विषय नभएको जिकिर गरिन् ।
सोमबार भक्तपुरमा भएको साक्षात्कारमा प्रवक्ता भुसालले संविधान कार्यान्वयनका लागि संशोधन अपरिहार्य भएको तर्क गर्दै एमालेजस्तो जिम्मेवार पार्टी संविधान संशोधन प्रक्रियामा सहभागी हुने पनि बताइन् । मधेशवादी दलसँगको छलफलमा समेत एमालेले लचकता अपनाएको भन्दै प्रवक्ता भुषलले अबको केही दिनभित्रै एमाले पनि संविधान संशोधनकै पक्षमा आउने दाबी गरिन् ।
जेठभित्र स्थानीय तहको निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्दै भुसालले सरकारलाई सहयोग गर्न सबैलाई अनुरोध गरिन । ‘स्थानीय तहको पुनर्संरचनाको विवाद टुंगिनेबित्तिकै सरकारले निर्वाचनको मिति घोषणा गर्छ, वर्तमान सरकारले नै तीनै तहको निर्वाचन गर्छ ।’






