राष्ट्रपति डा रामवरण यादवले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा उहाँले भन्नुभएको छ – ‘विविध जातजाति, भाषाभाषी, धर्म–संस्कृति, परम्पराहरूबाट समृद्ध हाम्रो मुलुकमा यस प्रकारका चाडपर्वहरूको संरक्षण र संबद्र्धनबाट देशमा आपसी विश्वास र सद्भावको अभिवृद्धि भई राष्ट्र निर्माण एवम् समुन्नत सामाजिक संरचनाको निर्माण गर्ने कार्यमा महत्वपूर्ण टेवा मिल्नेछ भन्ने मलाई लागेको छ ।
यस पर्वले सबै नेपालीबीच बान्धुत्व, प्रेम र एकताको भावना बढाउने कार्यमा सहयोग पुग्ने आशा व्यक्त गर्दै उहाँले शान्ति, समुन्नत तथा समृद्ध नेपाल बनाउन सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना पनि गर्नुभएको छ ।
यसैगरी, उपराष्ट्रपति परमानन्द झाले क्रिसमस डेका अवसरमा एक सन्देश दिनुहुँदै संविधानसभाको दोस्रो निर्वाचनपछि देशले जनचाहना अनुरूपको लोकतान्त्रिक संविधान प्राप्त गर्दै स्थिरता र समृद्धिको मार्गमा अघि बढ्न सकोस् भन्ने कामना गर्नुभएको छ । राजनीतिक क्षेत्रको गतिरोधलाई सदाका लागि समाप्त गरी सबै नेपालीलाई यो दिवसले सुख, शान्ति र समृद्धि प्रदान गर्ने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ ।
क्रिसमसमा राष्ट्रपतिको शुभकामना






