बेलायती संसद भवन अगाडि मोदीविरुद्ध विशाल प्रदर्शन हुदै

modi

तीन दिने बेलायत भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्री मोदीविरुद्ध बेलायतस्थित नेपालीहरुले बेलायती संसद भवन अगाडि विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् ।

नेपालमा अघोषित नाकाबन्दी लगाएकामा आक्रोशित नेपालीले मोदी विरुद्ध १२ नोभेम्बर दिउँसो १२ बजे बेलायती संसद भवन अगाडि विरोध प्रदर्शन गर्न लागेका हुन् ।प्रदर्शनी अभियानमा जुटिरहेका फोटोपत्रकार एभरेष्ट गौतम र विद्यार्थी नेता गणेश खड्काका अनुसार हालसम्म एनपीसीसी यूके, एनआरएनए यूके, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स, कपिलवस्तु समाज यूके, नेपाली साहित्य विकास परिषद यूके, नेपलिज हार्ट फाउण्डेशन यूके, पूर्व प्रहरी परिवार मञ्च यूके, यती नेपाली एसोसिएसन यूके, नेपलिज ब्लड डोनर्स यूके, संयुक्त राष्टवादी संगठन बेलायत, डार्टफोर्ट नेपलिज कम्युनिटी यूके, तमुधिं आमा समूह यूके, अन्तर्राष्टिय नेपाली वांग्मय प्रतिष्ठान यूके प्रतिनिधिले सहभागिताका लागि प्रतिवद्धता दिइसकेका छन् । अन्य संघसंस्थाले पनि साथ दिने वचन दिएको एभरेष्ट गौतमले जनाए ।

अभियानलाई बेलायतस्थित नेपाली मिडियाले पनि उल्लेख्य साथ दिएका छन् । भारतको अघोषित नाकाबन्दीबारे विश्व समुदायसमक्ष जानकारी दिन कार्यक्रम तय गरिएको समितिले जनाएको छ । समितिले सम्पूर्ण बेलायतवासी नेपालीलाई प्रदर्शनमा साथ दिएर ऐक्यवद्धता जनाउन आग्रह समेत गरेको छ ।