मैदुगिरी (नाइजेरिया), २० कात्तिक । नाइजेरियामा बोकोहराम समूहका कारण घर छाड्न बाध्य पारिएका विस्थापित परिवारका लागि संयुक्त राष्ट्रसङ्घको सहयोग र सरकारी प्रयासमा दुई हजार ५०० अस्थायी घर बनाइने भएको छ।
संयुक्त राष्ट्रसङ्घ र सरकारी पहलमा निर्माण गरिने घरहरु बोकोहराम समूहबाट विस्थापित लाखौँ मानिसमध्ये अत्यन्त समस्यामा रहेका मानिसका लागि आश्रयस्थल बनाइने सरकारले जनाएको छ ।
यी अस्थायी प्रकृतिका घर टहराको निर्माणपछि सार्वजनिक स्कुलमा शरण लिई बसेकालाई सारिने र बालबालिकाका लागि नियमित कक्षाहरु सञ्चालन गरिने सरकारले जनाएको छ ।
द्वन्द्वका कारण विस्थापितले स्कुलहरुमा शरण लिई सामूहिक बसाइँ सुरु गरेपछि बन्द विद्यालय खुल्ने छन् । नाइजेरियामा लाखौँ विद्यार्थीले गएको १८ महिनायता शिक्षा लिन पाउने उनीहरुको मौलिक अधिकारबाट वञ्चित छन् ।
नयाँ शिविरमा २० हजार मानिसलाई राख्न सकिने छ । रासस/एपी







