१० कात्तिक । अफगानिस्तानको हिन्दकुशलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पले पाकिस्तानमा सबैभन्दा बढी क्षति गरेको छ । यो समाचार तयार पार्दासम्म पाकिस्तान अढाइ सय मानिसको मृत्यु भइसकेको छ । हजारौं भौतिक संरचना ध्वस्त भएका छन् ।
यसैक्रममा पाकिस्तानलाई सहयोग गर्न विश्वका धेरै देशले इच्छा व्यक्त गरेका छन् । जसमध्ये सुरुमा छिमेकी देश भारतले सहयोग गर्न अनुमति मागेको थियो । तर, पाकिस्तानले भारतको सहयोग अस्वीकार गरेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफलाई फोनै गरेर सहयोग गर्न अनुमति मागेका थिए । तर भारत लगायत अन्य देशको सहयोग पाकिस्तानले अस्वीकार गरेको हो । साथै उसले आफू आफ्नो देश भूकम्पको समस्या सुल्झाउन समक्ष रहेको जनाएको छ ।
भारत तथा अन्य देशहरुको सहयोग अस्वीकार गरेको पाकिस्तानलाई भने अब नेपालले सहयोग गर्ने भएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई टेलिफोन गरी भूकम्पले पाकिस्तानमा पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
अफगानिस्तानको हिन्दकुश पर्वतमा सोमबार दिउँसो गएको शक्तिशाली भूकम्पले पाकिस्तान र अफगानिस्तानमा पु¥याएको ठूलो जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट प्रधानमन्त्री ओलीले दुःख व्यक्त गर्नुभएको थियो ।
विपतको यस घडीमा नेपाल सरकार र नेपाली जनता सदैव पाकिस्तान सरकार र पाकिस्तानी जनताका साथमा रहेको र नेपाल सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता प्रधानमन्त्री ओलीले समकक्षी सरिफसँग व्यक्त गर्नुभएको हो । जवाफमा सरिफले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
भारतको सहयोग लिन नमानेको पाकिस्तानलाई नेपालले मद्दत गर्ने






