काठमाडौं, कार्तिक ८ । चीनका लागि नेपाली राजदूत महेश मास्केले चीनबाट इन्धन ल्याउने औपचारिक पहल शुरु भइसकेको बताएका छन् ।
राजदुत मास्केले चीनसँग औपचारिक वार्ता गर्न आयल निगम, वाणिज्य र परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु चीन जाने तयारीमा रहेको जानकारी दिए ।
तीन–चार दिनभित्रै चीनबाट पेट्रोल आयात गर्ने प्रक्रिया शुरु हुने उनले बताए ।
आपूर्ति मन्त्रालयमा आइतबार आयोजित बैठकमा सहभागी भएपछि राजदुत मास्केले यस्तो जानकारी दिएका हुन् ।
आपूर्ति मन्त्रालयमा आइतबार आपूर्ति मन्त्री गणेशमान पुनको अध्यक्षतामा नेपाल आयल निगम, वाणिज्य मन्त्रालय, परराष्ट्रका पदाधिकारीहरुको बैठकमा समेत इन्धन आपूर्ति समस्याको तत्कालिन तथा दीर्घकालिन समाधानका साथै यसको वितरणलाई सहज बनाउने विषयमा छलफल भएको थियो ।







