
काठमाडौं २७ असोज । नेपाल आयल निगमले चीनबाट पेट्रोलियम पदार्थ ल्याउन कूटनीतिक पहल गर्न तालुकदार वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई लिखित अनुरोध गरेको छ। निगमले चीनबाट दैनिक ६ लाख लिटर डिजेल, ३ लाख लिटर पेट्रोल, ‘लाख लिटर मट्टीतेल र ४ सय टन ग्यास आपूर्ति गर्ने वातावरण मिलाइदिन वाणिज्य मन्त्रालयलाई शुक्रबारै मन्त्रालयलाई पत्राचार गरेको खुलेको हो।
निगमस्रोतका अनुसार काठमाडौंमा सामान्य दिन दैनिक ४ लाख ५० हजार लिटर डिजेल र ३ लाख ५० हजार लिटर पेट्रोल आवश्यक पर्छ। मासिक १८ हजार टन ग्यासले नेपालीको माग सम्बोधन गर्दै आएको छ। निगम मासिक १२ हजार टन ग्यास ल्याउने गरी अघि बढेको छ ।
सरकारबाट उल्लिखित परिमाणमा पेट्रोलियम पदार्थ चीनबाट नेपाल भित्र्याउन कूटनीतिक पहल भए निगमले दैनिक माग पूरा गरी स्टकसमेत राख्न सक्ने र तत्काल समस्या समाधान हुने निगम उच्चस्रोतको भनाइ छ।
भारतको सीमा नाकाबन्दीले पेट्रोलियम आयात ठप्प भएपछि निगमले विकल्पका रुपमा चीन रोज्दै पत्र पठाएको हो।
‘सरकारी स्तरमा पहल नगरी चीनबाट पेट्रोलियम पदार्थ ल्याउन सकिन्न,’ निगम उच्चस्रोतले भन्यो, ‘पहिले सरकारले चीन सरकारसँग कूटनीतिक माध्यमबाट कुरा गर्नु जरुरी छ, त्यसपछि चीनबाट तत्काल आपूर्ति गर्छाै।’
निगमले मन्त्रालयलाई लेखेको पत्रमा आयात गर्ने पेट्रोलियम पदार्थको परिमाण पनि उल्लेख गरेको छ। ‘सरकारको पहलबिना चीनबाट पेट्रोलियम ल्याउने सम्भावना हुँदैन,’ स्रोतले भन्यो, ‘निगमले निकालेको सूचनामा टेन्डर प्रस्ताव हाल्ने अधिकांशले चीनबाटै ल्याउने आशय देखाएका छन्, यसका लागि पनि सरकारी पहल आवश्यक छ।’
वाणिज्य मन्त्रालयले उक्त पत्र दुई दिनअघि तत्काल कूटनीतिक पहल गर्न आग्रह गर्दै परराष्ट्र मन्त्रालय पठाएको छ।






