जँचाइहाल्नुस है, टाइफस हाेला । प्रकोपले ८ को मृत्यु

टाइफस प्रकोपले ८ को मृत्यु काठमाडौं २७ असाेज । के तपाइँलाइ टाउको दुख्ने, कडा ज्वरो आउने, आँखा रातो हुने,  शरीरभरि रातो दाग देखिने, ग्रन्थीहरु सुन्निने भएकाे छ ? छ भने तुरून्त डाक्टरकहाँ पुग्नुस है, नयाँ राेग टाइपस पनि हुनसक्छ ।  नेपालमा नयाँ देखा परेकाे टाइफस (मुसाबाट सर्ने रोग) प्रकोपले भदौ पहिलो सातायता आठ जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुले भदौ पहिलो साता पहिचान भएको यस रोगबाट देशका विभिन्न स्थानमा गरी आठ जनाको मृत्यु भएको जानकारी दिएको हो।
महाशाखा प्रमुख डा. बाबुराम मरासिनीका अनुसार अहिलेसम्म १ सय ९५ जना शंकास्पद बिरामी परीक्षण गरिएकोमा ७५ जनामा यो रोग फेला परेको छ। बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान, धरानमा ६ र कैलालीमा २ जनाको मृत्यु भएको उनले जानकारी दिए। बिपीमा ज्वरो आएर भर्ना भएका चार बालबालिकाको एकैपटक मृत्यु भएपछि अनुसन्धान गर्दा महाशाखाले यो रोग पहिचान गरेको हो।

‘धरान अस्पतालमा उस्तै समस्या भएका चार बालबालिकाको एकैपटक मृत्यु भएपछि भारतबाट विशेषज्ञ बोलाएर अनुसन्धान गरेका थियौं,’ डा. मरासिनीले भने।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र दुई जना टाइफसका बिरामी भर्ना भई उपचार गराइसकेका छन् भने अन्यले बहिरंग विभागमा उपचार गराएको अस्पतालले जनाएको छ।

‘काठमाडौंमा यसका बिरामी हुनुपर्छ तर उनीहरु निजी अस्पतालतिर बढी जान्छन्,’ अस्पतालका सरुवा रोग अनुसन्धान विभाग प्रमुख डा. शेरबहादुर पुनले भने।

महाशाखा प्रमुख मरासिनीका अनुसार संखुवासभा, धादिङ, कैलाली, भोजपुर, डडेल्धुरा, धनगढी, सिरहालगायत जिल्लामा यस रोगका बिरामी भेटिएका छन्। भूकम्पका कारण मुसा जमिनबाहिर सक्रिय हुने र भूकम्पले घर भत्किएर गोठ, पालमा सुत्ने बाध्यताले मुसाको माइट आपसमा सर्न गई रोग फैलिएको महाशाखाका प्रमुख डा. मरासिनीले बताए।

‘भूकम्प गएको गाउँ धादिङको जीवनपुर जाँदा सिरकभित्रै मुसा गुजिल्टिएको भेट्यौं,’ उनले भने।

स्टोर, गोठ तथा झाडीहरुमा मुसा फैलिने गरेको प्रमुख मरासिनीले बताए। भूकम्पले घर भत्किएर मानिसहरु गोठ तथा पालमा बस्ने क्रममा यसको संक्रमण बढेको उनको दाबी छ।

यो रोग लागेपछि मेनिन्जाइटिस, टाइफाइडमै जस्तो कडा ज्वरो आउने, टाउको दुख्नेलगायत सामान्य लक्षण देखिने भएकाले बिरामी र चिकित्सक दुवैलाई रोग पहिचानमा समस्या देखिएको मरासिनीले बताए।

‘नेपालका सन्दर्भमा नयाँ रोग हो, स्वास्थ्यकर्मीले पहिचान गर्न नसकेरै मृत्यु भएको हो,’ उनले भने, …यो रोगमा मुसाको शरीरबाट मानिसको छालामा टाँसिएको लार्भाले सुरुमा टोक्छ र शरीरभित्र प्रवेश गरी संक्रमण गराउँछ।’

टाउको दुख्नु, कडा ज्वरो आउनु, आँखा रातो हुनु, टोकेको ठाउँमा निलो र शरीरभरि रातो दाग देखिनु, ग्रन्थीहरु सुन्निनु यसका प्रमुख लक्षण हुन्। रोगले जटिल रुप लिएपछि आन्तरिक तथा बाहय रक्तस्राव भई शरीरमा रगत कमी हुँदै जान्छ।

यो रोगको समयमै उपचार नभए श्वासप्रश्वास प्रणालीमा जटिलता आई बिरामीको मृत्यु हुने चिकित्सकको भनाइ छ। …मिर्गौला फेल हुने, मुटुमा समस्या आउने हुन सक्छ, बिरामीमा एकैपटक धेरै समस्या देखिन्छन्,’ शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले भने।

अन्य रोगमा जस्तो घरैमा नियन्त्रण गर्न सकिने कुनै उपाय नभएकाले लक्षण देखिए तुरुन्तै अस्पताल आउन डा. सेन्चुरीको सुझाव छ।

यो रोग नेपालमा पहिलोपटक सन् २००४ मा पाटन अस्पताल आएका तीन बिरामीमा पहिचान भए पनि उनीहरु नेपाली थिए या विदेशी भन्ने यकिन नभएकाले जनस्तरमा यो वर्ष पहिलोपटक पहिचान भएको प्रमुख मरासिनीको भनाइ छ।

जापान, चीन, भारत, पाकिस्तान, बंगलादेशमा पहिलेदेखि नै फैलिइसकेको थियो। कच्ची घर, गोठको भुइँमा सुत्ने, स्टोरमा काम गर्ने, मुसा भएका ठाउँमा सुत्नेहरु यो रोगको बढी जोखिममा रहेको चिकित्सकको भनाइ छ।

मधेस आन्दोलन तथा नाकाबन्दीका कारण तेल अभाव भएपछि देशभर नमुना संकलन गर्न, अन्य कार्यक्रम गर्न जानसमेत बाधा परेको महाशाखाले जनाएको छ। गर्मी मौसममा देखिने रोगका रुपमा परिचित भए पनि भारत तथा अन्य देशमा जाडो मौसममा समेत देखिएको हुनाले जाडो मौसममा समेत यसको जोखिम रहेको मरासिनीले बताए।

यो रोगविरुद्ध जनस्तरमा कार्यक्रम लैजान बजेट अभाव रहेको महाशाखाले जनायो। ‘यसका लागि १२ हजार स्वास्थ्यकर्मीलाई पहिलो तालिम दिनुपर्छ,’ उनले भने। यो जीवाणु आँखाले देख्न नसकिने र झाडीमा फैलिने भएकाले नियन्त्रणका लागि प्रभावित क्षेत्रमा किटनाषक औषधि छर्किनुपर्ने प्रमुख मरासिनी बताउँछन्। …यसका लागि बजेट छैन, ठूलो खर्च लाग्छ,’ उनले भने।

मुख्य लक्षण

कामज्वरो आउनु

टोकेको भागमा रातो तथा निलो दाग देखिनु

टाउको दुख्नु

लिम्फोग्रन्थी (शरीरका विभिन्न भागका ग्रन्थी) बढ्नु

श्वास/प्रश्वासमा समस्या बढ्नु

कसरी बच्ने?

सकेसम्म गोठमा नसुत्ने

घरवरपर सफा राख्ने

मुसा मारी मुसा नियन्त्रण गर्ने

झाडी काटेर घरवरिपरि सफा राख्ने