![]()
काठमाण्डौ २६ असोज ।रसुवाको रसुवागढीमा रहेको चीनसँगको सीमा नाका यसै हप्ता खुल्ने भएको छ। नेपाल र चीन दुबै तर्फ सडक निर्माणको काम सकिएपनि चीनले औपचारिक समारोह मार्फत नाका खोल्न चाहेकाले १/२ दिन समय लाग्ने रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। ‘हाम्रो तर्फबाट केही रोकतोक छैन तर उनीहरुले केही फर्मल्ली गर्ने भन्ने भएकाले नाका खुल्न नसकेको हो’ उनले पहिलोपोस्टसँग टेलिफोनमा भने ‘उनीहरुले पनि छिटै गर्ने भनेका छन् त्यसैले १/२ दिनमा नाका खुल्छ।
गएको वैशाख १२ गतेको भूकम्पले भन्सार कार्यालयहरु भत्किएका र पहिरोले नेपाल र चीन दुवै तर्फका सडकहरु थुनिएकाले नाका बन्द भएको थियो। दक्षिणी नाकाहरुमा भारतले अवरोध गरेपछि सरकारले पहिरो पन्छाएर सडक खुलाउन थालेको थियो। चीन सरकारले पनि पहिरोले अवरुद्ध सडकहरु निर्माण गरिसकेको छ। फोटो : केदार पनेरुको फेसबुकबाट। ‘चीन तर्फ पनि अवरोध छैन भन्ने जानकारी आएको छ’ प्रमुख जिल्ला अधिकारी गेलालले भने ‘त्यसैले नाका खुल्न अब धेरै दिन लाग्दैन।’ नाका खुलेपछि तत्काल चीनबाट लत्ता कपडा र फलफूलहरु नेपाल ल्याउन सकिनेछ। स्थानीय ब्यापारीहरुले पेट्रोलियम पदार्थ पनि ल्याउने तयारी गरेपनि सरकारी स्तरबाट भने यसको पहल भएको छैन। ‘ब्यापारीहरुले आफ्नै प्रयासमा पेट्रोलियम पदार्थ ल्याउने तयारी गरिरहेका छन् भन्ने सुनेको छु, सरकारी स्तरबाटै ल्याउन के पहल भएको छ यसबारे मलाई जानकारी छैन, भन्सारको हाकिम साहेबलाई थाहा होला कि’ प्रमुख जिल्ला अधिकारी गेलालले भने।






