ओली ज्यू, पुग्यो त बयलगाडा अमेरिका ?

विष्णु निष्ठुरी

आखिर बयलगाडा अमेरिका पुगिछाड्यो! नेपालमा गणतन्त्र पनि आइछाड्यो र गणतान्त्रिक संविधान लागु भएपछि केपी ओली गणतान्त्रिक नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री पनि भै छाडे।

हाम्रा पूर्खाले चलाएका उखान टुक्का कहिले पनि असान्दर्भिक भएका छैनन्। त्यस्तै एउटा चल्तीको उखान हो ‘नपत्याउने खोलाले बगाउँछ।’ यो उखान प्राय मानिसको जीवनमा कहिँ न कहिँ मिल्न आइपुग्छ र खोलाले बगाइसकेपछि मात्र धेरैले यसको अर्थ चाल पाउँछन्, जतिबेला निकै ढिलो भैसकेको हुन्छ। नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको जीवनमा पनि यही उखान जबर्जस्त मिल्न पुगेको छ।

धेरैले बिर्सिदै गएको हुनुपर्छ कि नेपालमा कुनैबेला जनआन्दोलन भएको थियो र त्यसले आम नेपालीलाई प्रजाबाट माथि उठाएर नागरिकको दर्जा दिएको थियो। किनभने नेपालमा त्यसपछि अनगिन्ति घटनाहरु भएका छन् त्यसैले जनआन्दोलनको सम्झना भैरहनुपर्छ भन्ने जरुरी पनि भएन। यसैपनि हामी नेपाली दुखका दिनहरु यति चाँडो भुल्छौं कि कसैले नसम्झाइदिएसम्म हामीलाई त्यसको यादै हुँदैन।

हो त्यही जनआन्दोलन जारी रहकै बेलाको कुरा हो, एकदिन एमाले नेताका हैसियतमा  ओलीले पुतलीसडकतिरको एउटा चल्तीको चौतारीमा उभिएर जनआन्दोलनप्रति व्यंग्य कस्दै यसो भन्नुभएको थियो ‘यो आन्दोलनले नेपालमा गणतन्त्र आउँछ भन्नु र बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नु उस्तै हो।’ ओलीको यो व्यंग्यवाँण सुनेर आन्दोलनको सफलतामाथि किञ्चित विश्वास नरहेका धेरैका मनमा प्रशन्नता छरेको थियो।

वास्तवमा जनआन्दोलनको सफलताप्रति कसैलाई पनि विश्वास थिएन। नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा पुनर्स्थापनाको माग अगाडि सारेर पाँच दलको आन्दोलन घोषणा गर्दा धेरैजसो वरिष्ठ कांग्रेसजन नै अविश्वासमा बाँचेका थिए। त्यही आन्दोलनको आकार बढेर सात दलको भयो र त्यसले प्रतिगमनकारी शक्तिलाई परास्त गर्न सफल भयो। जबकी कतिपय मानिसहरुलाई त्यतिबेला पनि लागिरहैको थियो कि नेविसंघ र अनेरास्ववियुका केही युवाले ढुंगा हान्दैमा प्रतिगमन सच्चिनेवाला छैन।

तर त्यसबेला एकपटक प्रतिगमन आधा सच्चिएको थियो! लामो संघर्षपछि आन्दोलन सफल भयो र देशमा दशक देखिको हिंसात्मक आन्दोलन रोकिएको थियो। शीरमा कफन बाँधेर आन्दोलनमा  होमिएका युवाहरुले पछि नांगा आँखाले देख्न पाए आन्दोलन सफल भएपछि ऐतिहासिक योगदानका लागि तिनै मानिसहरु राज्यबाट पुरस्कृत समेत भएका थिए!

आज ओली देशको कार्यकारी प्रमुख हुनुभएको छ र उहाँलाई ‘नपत्याउने खोलाले बगाएको छ।’ यो पद उहाँले रमिता हेरेकै भरमा पाउनुभो भन्न खोजिएको होइन। यसबीचमा र पहिले उहाँले हकअधिकारका लागि गरेको योगदानको आफ्नै इतिहास छ। तर एउटा सत्य चाहिँ के हो भने जुन आन्दोलनप्रति उहाँकै मनमा अविश्वास थियो त्यसकै प्रतिफल स्वरुप ओली प्रधानमन्त्री बन्न पाउनुभएको छ लोकतान्त्रिक गणतन्त्रात्मक देश नेपालको।

त्यतिबेला उहाँले बिम्बका रुपमा प्रयोग गर्नुभएको बयलगाडा (आन्दोलन) यतिबेला  अमेरिका (गणतन्त्रमा) पुगेको छ र त्यसमा सवार हुनुहुन्छ एमाले संसदीय दलका नेता केपी शर्मा ओली। कुनैबेला बयलगाडा समथर भूभागका लागि ढुवानीको निर्विकल्प साधन थियो भने रिक्सा सवारीका लागि। तर यी दुबै साधनलाई विज्ञानले विस्थापित गरिसकेको छ। थाहा भएकै कुरा हो कि अक्सर गरेर इतिहासलाई नयाँ जमानाले विस्थापित गर्ने गर्छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पूर्खाले चलाएका उखान टुक्का खुब मन पर्छ। विपक्षीमाथि वचनको वाँण चलाउनु पर्दा नेता ओली पूर्खाका तिनै उखान स्मृतिको ठोरीबाट झिकेर तीरमा चढाउनुहुन्छ। उहाँका भाषण रोचक र घोचक दुबै किसिमले स्रोताले मन पराएका छन्। त्यसकारण पनि एमालेसँग दलीय साइनो नजोडिएका मानिस पनि ओलीको राजनीतिक प्रवचन सुन्न झुम्मिने गर्छन्। उखानकै बल प्रयोगले उहाँका भाषणका स्रोताको संख्या पनि उल्लेख्य छ। एकपटक अच्युतकृष्ण खरेलले ओलीको प्रशंसामा भनेका थिए ‘हाम्रा मन्त्रीको मुखमा त सरस्वती कै वास छ।’

ओली यतिबेला देशको प्रधानमन्त्री पदमा आसिन हुनुभएको छ। संविधान सभाले संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान घोषणा गरेपछिको पहिलो प्रधानमन्त्रीका रुपमा ओलीले घटस्थापनाको अघिल्लो दिन सोमबार सिंहदरबारको तातो आशन ग्रहण गरिसक्नुभएको छ। ओलीको यो सत्तारोहण स्वाभाविक हो, यसमाथि कुनै बक्र दृष्टि र आग्रहपूर्ण टिप्पणी आवश्यक छैन। प्रधानमन्त्री पदमा उहाँको चयनले देशका युवामा उत्साह नै ल्याएको देखिन्छ। यो उत्साहको एउटै कारण छ कि प्रधानमन्त्री ओली देशको स्वाभिमान र युवाहरुको आत्मसम्मानको मूल्यमा कसैसँग सम्झौता गर्नुहुन्न।

अहिले नै समस्याहरुको थाक लगाएर नवनियुक्त प्रधानमन्त्रीलाई तनावमा धकेल्नु उपयुक्त हुँदैन। आफ्नो मन्त्रीमण्डलको चयन पनि गरिनसक्दै देशका अगाडि चुनौती बनेर बसेका मुद्दाहरु औंल्याएर प्रधानमन्त्रीको थकित ज्यानलाई थप तनाव दिनु मानवीय नाताले समेत सुहाउने कुरा होइन।

तैपनि उहाँको छायाँ बनेर बसेका केही चुनौतीतिर औंल्याइदिंदा प्रधानमन्त्रीलाई मद्दत नै पुग्ला। खासगरि उहाँले कुनैबेला “उम्लेको दूध जस्तै” भनिएको एमाओवादी सरकारको प्रमुख साझेदारका हैसियतमा छ र प्रतिगमनकारी भनी आरोपित गरिएको राप्रपा नेपाल पनि साथै छ। अनि हिजोसम्म सहकार्य गरेको संसदकै ठूलो दल नेपाली कांग्रेस चाहिँ प्रमुख प्रतिपक्षको बेञ्चमा सरेको छ। संविधान घोषणाको सेरोफेरोमा असन्तुष्ट बनेको मधेशवादी समूहलाई नरिझाई हुँदैहुँदैन। राजनीतिमा हालै बनेको यो नवीनतम फेरबदलीलाई सन्तुलनमा राख्नु जरुरी छ जसको अभावमा सरकारलाई अघि बढ्न सजिलो हुने छैन।

राजनीतिका चतुर खेलाडी भनेर चिनिएका ओली यसैपनि फुकेर पाईला चाल्न सिपालु हुनुहुन्छ। तर व्यंग बर्षाएर विपक्षीलाई “माओवादी पजेरो चढेर जंगल जाँदैनन्” भने जस्तो सजिलो चाहिँ अब छैन। किनभने बयलगाडा नै अमेरिका पुगिसकेको छ!