बेलायती संसद बाहिर गाेर्खाले प्रदर्शन गर्ने

अक्टोबर २० मा बेलायती संसद भवनबाहिर एक हजार गोर्खाले प्रदर्शन गर्नेलण्डन । गोर्खा सत्याग्रह संघर्ष समितिले  भूतपूर्व गोर्खाका हकअधिकारका माग राखेर बेलायति संसदभवन बाहिर प्रदर्शन गर्ने भएकाे छ ।  विभिन्न माग उठाउंदै आन्दोलन गरीरहेकेा समितले अक्टोबर २० तारिख बेलायती संसद भवन बाहिर प्रदर्शन गर्ने भएको हाे ।

गोर्खाहरुमाथिको विभेद र अन्याय कायम रहंदा सम्म दुई सय वर्षगांठको उत्सव मनाउनुको कुनै औचित्य नरहने निश्कर्षसहित सत्याग्रहले सोहि दिनमा प्रदर्शनको कार्यक्रम तय गरेको हो । झण्डै एक हजारको संख्यामा भूतपूर्व गोर्खा र तीनका परिवारका सदस्यहरुले दिउंसो १ बजेदेखि सांझ ५ बजेसम्म धर्ना दिने कार्यक्रम रहेकाे सत्याग्रह संघर्ष समितिका आन्दोलन निर्देशक ज्ञानराज राईले बताए ।

त्यसक्रममा एक विरोधसभाको कार्यक्रम पनि राखिएको छ । सो सभालाई गोर्खा मामिला हेर्ने सर्वसदलीय संसदीय समितिका सभापति सांसद विरेन्द्र शर्माले समेत सम्बोधन गर्नेछन ।

सत्याग्रहको टोलीले शुक्रबार सांसद शर्मालाई भेटेर दिएको निम्तो उनले स्वीकार गरेको आन्दोलन निर्देशक राईले बताए ।

सांसद शर्माकै माध्यमबाट अन्य सांसद तथा नेताहरुलाई पनि निमन्त्रणा पठाइएका कारण आफुहरुको विरोध कार्यक्रममा ऐक्यबद्धता जनाउन अन्य नेता तथा सांसदहरु पनि आउने सत्याग्रहको विश्वास छ ।

यसैबीच सत्याग्रहको पूर्व निर्धारित कार्यक्रमअन्तर्गत बेलायती संसदका सबै सांसदलाई आफना मागहरु समेटिएको ज्ञापनपत्र बुझाउने कार्यका लागि पनि सांसद शर्माले सहयोग गर्ने भएका छन ।

‘सबै ६५९ सांसदलाई ज्ञापनपत्र पोस्ट गर्ने काम अलि खर्चिलो हुने भएकाले अफठेरो परेको थियो ,’ आन्दोलन निर्देशक राईले भने, ‘सांसद शर्माले नै सबै सांसदलाई हाम्रो ज्ञापनपत्र फरवार्ड गरिदिन्छु भन्नुभएकोले अब निकै सजिलो भएको छ ।’

गोर्खाका मागहरु र तीनको सान्दर्भिकता तथा औचित्य समेटिएको ज्ञापनपत्र आउंदो सोमबार सत्याग्रहले सांसद शर्मालाई बुझाउंदैछ ।

बेलायती सेनामा गोर्खा भर्तीको दुई सय वर्षगांठको खुशीयाली मनाउन गोर्खा वेलफेयर ट्रस्टले सोही दिन संसद भवनमा एक विशेष कार्यक्रम  गर्दैछ ।