लन्डन । बेलायतभर छरिएर रहेका नेवारहरु आवद्ध पासा पुच गुठी यूकेले आगामी सेप्टेम्बर ३ मा पांचौं वृहत भेला अल्डरसटको एम्पायर हलमा गर्ने भएको छ ।
यसै बीच चार वटा शाखा अन्तर्गत संगठित भएका बेलायतका नेवारहरुको प्लमस्टिड, लन्डन, रिडिङ र अल्डरसट शाखा छन्। विदेशमा पनि नेवारी
संस्कृति, रितिरिवाजको संरक्षरण गरि नयां पुस्तालाई जानकारी गराउन हरेक २ वर्षमा भेला गरिंदै आएको छ ।

यसपटक लन्डनमा भेला हुने पालो भएपनि स्थान अभावका कारण अल्डरसटमा गर्नु परेको समन्वय समितिका अध्यक्ष कुमार श्रेष्ठले बताए । उनका अनुसार भेला अल्डरसटमा भएपनि सम्पूर्ण जिम्मा लण्डन शाखाका अध्यक्ष कपिल श्रेष्ठले लिएका छन् ।
चार वटा शाखामा बांधिएका बेलायतवासी नेवारहरुले दुई वर्ष कार्यकालभर गर्ने काम समेत बांडफांड गरेका छन् । अल्डरसट शाखाले बेलपूजा र ब्रतवन्ध जस्ता काम गर्छ । त्यस्तै, लण्डन शाखाले सेमिनार, रिडिङ शाखाले गुठी पूजा तथा प्लमस्टिड शाखाले म्हः पूजा र सांस्कृतिक सम्बन्धि काम गर्दै आएको छ ।
भेलामा लाखे, भैरव, मञ्जुश्री, कुमारी नाच, चरी नाच, देउता नाचहरु लगायतका पौराणिक नाचहरुसंगै परमपरागत मौलिक बाजाहरुको पनि विशेष सांस्कृतिक प्रस्तुति रहनेछ ।
स्वादिष्ट नेवारी परिकारका साथै विभिन्न मौलिक सांस्कृतिक कार्यक्रमहरुको मेलाकै रुपमा सञ्चालन हुने यो कार्यक्रममा गैरनेवार समुदायका नेपालीहरु पनि सहभागी हुंदै आएका छन् ।






