![]()
काठमाण्डौ, २१ असोज । दसैँ र तिहारलाई लक्षित गरी हिमाली जिल्ला मुस्ताङबाट २० हजार भेडाच्याङ्ग्रा ल्याइने भएको छ।
उपल्लो मुस्ताङका छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ र लोमान्थाङ गाविसबाट उक्त परिमाणमा भेडाच्याङग्रा ल्याउन लागिएको हो। भेडाच्याङ्ग्रा खरिदका लागि नेपाल खाद्य संस्थान, म्याग्दी, पर्वत, बाग्लुङ र कास्की क्षेत्रका व्यापारी मुस्ताङ आइसकेका छन्।
चाडपर्वलाई लक्षित गरी भेडाच्याङ्ग्रा निर्यात हुने जिल्ला पशु सेवा कार्यालय मुस्ताङका पशु चिकित्सक नन्दलाल बर्माले जानकारी दिए। “खाद्य संस्थानबाट एक हजार खसीको माग आएको छ, अन्य व्यापारी पनि जिल्ला आइराख्नुभएको छ”, उनले भने– “विगतका वर्षमा तिब्बतबाट पनि खसी आयात हुन्थ्यो, यस वर्ष त्यो नहुने भएको छ।”
तिब्बतका किसानले स्थानीयबजारमै भेडाच्याङ्ग्राको माग पूरा गर्न नसकेको भन्दै नेपाली व्यापारीलाई बिक्री नगर्ने खबर पठाएपछि उपल्लो मुस्ताङका किसानबाटै उक्त माग पूर्ति गराउन निर्देशन दिइएको पशु सेवा कार्यालयले जनाएको छ।
गत वर्षमा मुस्ताङबाट कम र तिब्बतबाट बढी भेडाच्याङ्ग्रा आयात हुने गरेको थियो। “अहिले डोल्पाबाट पनि खसी ल्याउने तयारी भएको छ, त्यो प्रयास सफल भयो भने बजार माग धान्न सकिन्छ”, उनले भने।
तिब्बतबाट आयात नहुने भएपछि यस वर्ष विगतको भन्दा भेडाच्याङ्ग्राको मूल्य महँगो हुने भएको छ। अत्यधिक हिउँपछिको चिसो र हिउँ चितुवाको आक्रमणका कारण यस वर्ष उपल्लो मुस्ताङमा मात्रै चार हजारभन्दा बढी भेडाच्याङ्ग्रा मरेका थिए।
“यस वर्ष अझ केही महङ्गो होला, अहिलेसम्म मूल्य भने तयार भइसकेको छैन” बर्माले भने। रासस






