![]()
डिजेल अभावले अधिकांशले घर जान नपाइने चिन्ता गरिरहेका बेला यातायात व्यवसायी तथा सरकारले काठमाडौंमा रहेका बाहिरी जिल्लाका सर्वसाधारणलाई घर जाने व्यवस्था गर्ने भएका छन्। सरकार र यातायात व्यवसायी महासंघबीच नेपाल आयल निगमले डिजेल उपलव्ध गराउने र व्यवसायीले उपत्यकाबाट बाहिरका लागि निर्वाध रुपमा सवारी साधन चलाउने सहमति भएको छ।
नेपाल आयल निगमले उपत्यकाबाट विभिन्न जिल्लाहरुमा छुट्ने बसहरुका लागि दसैंसम्म डिजेलको प्रवन्ध मिलाउने प्रतिबद्धता जनाएको छ। नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले दसैंसम्म काठमाडौंबाट बाहिरिने सवारी साधनलाई डिजेल उपलव्ध गराएर यात्रुहरुलाई घर पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाए। सेतोपाटीसितको कुराकानीमा उनले निगमसित भएको डिजेलबाट बाहिरिने सार्वजनिक सवारीसाधनलाई दसैंको बेला कमी नगराइने उनको भनाई छ।‘डिजेलकै अभावमा गाडि नचलेर घर जान नपाउने भन्ने हुँदैन, गाडि नै अभावले केही समस्या हुन सक्छ’ बरालले भने।
उता नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले पनि सरकारले डिजेल उपलव्ध गराउने र व्यवसायीले यातायात निर्वाध रुपमा चलाउने सहमति भएको जानकारी दिँदै यात्रुहरुलाई घर जानै नपाइने अवस्था नरहने स्पष्ट पारेको छ। ‘गाडिहरु कम हुँदा केही असहज होला, तर घरै जान नपाइने हुँदैन’ महासंघका महासचिव सरोज सिटौलाले भने!
पहिलेजस्तो अग्रिम टिकेट नखुले पनि १ दिनअगाडि टिकेट काटेर यात्रुहरुले आफ्नो बस निश्चित गर्न सक्ने उनले बताए। तराईका बन्द रहेका केही जिल्लाहरुबाहेक अन्य जिल्लाहरुमा यातायात अहिले पनि निर्वाध रुपमा संचालन भइरहेको उनले स्पष्ट पारे। ‘घटस्थापनादेखि मानिसहरुको चाप केही बढ्ने भएकाले त्यतिखेरलाई पनि हामीले थप बसहरु संचालन गरी यात्रुहरुलाई घर पठाउने व्यवस्था गर्नेछौँ’ उनले भने। डिजेल तथा सवारीसाधनको अभावले पहिलेभन्दा यात्रा केही असहज भने हुन सक्ने उनले बताए। अहिले नै घर जान मिल्ने यात्रुहरुले चाँडो घर फर्केर बढी भार पर्ने दिनहरुलाई सहज गरिदिन पनि उनले आग्रह गरे।
अहिले पनि उपत्यकाबाट बाहिरिने यात्रुहरुको चाप भने बढेको छ। नाकाबन्दीका कारण उपत्यकाबाट बाहिरिने यात्रुहरुको संख्या बढेको हो। नाकाबन्दीपछि अहिले दैनिक झण्डै ३ हजार ५ सय यात्रुवहाक बसहरु काठमाडौंबाट बाहिरिने र त्यत्तिकै संख्याका बसहरु भित्रिने गरेका छन्। घटस्थापनादेखि दसैंको दिनसम्म झण्डै १५ लाखको हाराहारीमा यात्रुहरु काठमाडौंबाट बाहिरिने गर्दछन्।






