
क्षेत्र र खास गरी जाति वा नस्लवादी राजनीतिले कस्तो दुष्परिणाम दिनसक्छ भन्ने धेरै चर्चा गरिसकिएको छ । हालसालै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले जनकपुरमा प्रत्यक्ष अनुभव पनि गरिसकेका छन् ।
यस बारेमा अहिले यत्ति । तर प्रसंग भने उही तराई मधेसमा सल्केको आन्दोलनको आगो हो जसको रापले धेरै मधेसी जनता र समग्र देशवासीलाई पोलेको छ । भर्खरै भुइँचालोको विध्वंश लीला, त्यसभन्दा अगाडि रक्तरञ्जित कम्युनिस्ट लीलाबाट बिस्तारै उठ्न खोजेको राष्ट्र यतिखेर पुनः हिंसा, आगजनी, तोडफोडले आक्रान्त हुनपुगेको छ । र यसमा जसको जहाँ जति भूमिका रहे पनि सामान्य नागरिकले अत्यन्तै दुःख र विपद् सहनु परेको मात्रै होइन राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डतासमेत खतरामा परेको कतिपयको विश्लेषण छ ।
हुनत आजको भूमण्डलीकरणको जमनामा न्यायिक अधिकार र स्वतन्त्रताको लडाइँ लड्नेहरू एकै देश वा भूगोलमा मात्र सीमित हुँदैनन् । दस वर्षे कथित ‘जनयुद्ध’ लड्दा माओवादी नेताहरूले भारतकै शरणमा बसेर हत्याहिंसा मच्चाएको इतिहास छ । देशमा तत्कालीन राजा ज्ञानेन्द्रले संपूर्ण सत्ता हातमा लिएपछिको विषम परिस्थितिमा कांग्रेस एमालेका कतिपय नेता भारतीय भूमिमै सक्रिय भए र अन्ततोगत्वा १२ बुँदे सहमति गराई माओवादीलाई काटमारको राजनीतिबाट शान्तिपूर्ण राजनीतिमा ल्याउने र राजातन्त्रको अन्त्य गर्ने कामको महŒवपूर्ण थालनी पनि दिल्लीबाटै भयो । विसं २००७ सालमा प्रजातन्त्र प्राप्त गर्नुअघि राजा त्रिभुवनले भारतकै शरण लिनुपरेको थियो । तसर्थ नेपालका महŒवपूर्ण राजनीतिक परिवर्तन भारतको प्रत्यक्ष सहयोग र सहभागितामा हुँदै आएको सत्य हो । तैपनि आज मधेस आन्दोलनमा जे देखिएको छ, सायद यस्तो इतिहासमा कहिल्यै भएको थिएन ।
विषय राम्ररी नबुझ्ने मान्छे अहिले नेपाल–भारत सिमानामा पुग्ने हो भने त्यहाँ देखिने घटनाक्रम सामान्य लाग्दैनन् । नेपाली नागरिक छिमेकी मुलुकमा भात खान्छन् र सीमापारबाट नेपालीमाथि ढुंगामुढा बर्साउँछन् । यसरी हजारौँले नेपाली सुरक्षाकर्मीमाथि पराइ भूमिबाट प्रहार गर्नु जातीय, क्षेत्रीय मुक्ति आन्दोलन हो कि दुई देशबीचको अघोषित युद्ध हो?
नेता र विश्लेषकहरूले यस परिस्थितिको विभिन्न तर्क गर्लान् । नेपाल प्रहरी र सेनाको ज्यादती खप्न नसकेर बाहिरबाट आन्दोलन गर्नु परेको तर्क गरिन्छ पक्कै । यो आफँैमा गलत पनि नहोला । किनभने खासगरी प्रहरीकहो गोली टाउका र छातीमा लागेर आन्दोलनकारी मारिएको खबर आइरहेका छन् । यस्ता संवेदनशील विषयमा सरकारले पर्याप्त ध्यान नदिएको हुनसक्छ । आखिर माओवादी युद्ध चर्कनुमा पनि अहिलेकै सत्ताधारीको ज्यादती, निर्दोष जनताको हत्याले ठूलो भूमिका खेलेको साक्षी इतिहास छ । तसर्थ, प्रहरीको ज्यादती भएन भन्न सकिँदैन । अहिलेसम्म जेजस्ता हर्कत भए तिनको निष्पक्ष छानबिन हुनुपर्छ र दुवैतर्फका दोष्ीालाई न्यायिक कठघरामा उभ्याउनुपर्छ । यति हुँदाहुँदै पनि मधेस आन्दोलन हाँक्नेहरूले दुई स्वतन्त्र राष्ट्रबीचको सीमाको संवेदनशीलता बुझेर वा नबुझेर आफ्नो गतिविधि बढाएको भन्ने चाहिँ सत्य हो ।
मुलुकका बीचको सिमाना वारिपारि एकै जाति, भाषी, धर्मावलम्बी, नाताकुटुम्ब बस्ने त नेपाल र भारतबीच मात्रै होइन । भारत र पाकिस्तान, पाकिस्तान र अफगानिस्तानबीच पनि यस्तै अवस्था छ । कास्मिर टुक्य्राएकाले कतिपय कास्मिरी परिवार र नातेदार पनि टुक्रिएका छन् । अझै पनि कास्मिरको नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) वरपर कत्रो ज्यादती र आतंक छ दुवैतिरका सुरक्षा बलबाट । सीमाको संवेदनशीलताले कास्मिरलगायत क्षेत्रमा बसोवास गर्ने जनमानसलाई कति सास्ती छ भन्ने कुरा ‘सुपरहिट बलिउड’ चलचित्र बजरंगी भाइजानले प्रष्ट देखाउँछ । लौ त पाकिस्तान र भारतको दसगजा ओगटेर कुनै पनि मुलुकतिर कसैले गुलेली हान्ने हिम्मत गरोस् त? भारतीय भूभागमा बसेर चीनतिर कसैले ढुंगा हान्ने हिम्मत गरोस् त ?
पाकिस्तानजस्तो नेपालसँग भारतको दुस्मनी नहोला, यता र उता बस्ने नेपाली र बिहारी वा उत्तरप्रदेश वा बंगाली नागरिकबीच भाइचारा होला । त्यो अत्यन्तै राम्रो हो, कास्मिरका जनताले जस्तो हाम्रा सिमाना वरिपरि बस्ने नागरिकले कहिले दुःख र सास्ती पाउनु नपरोस् । यताका गोठालाले उता गाइवस्तु चराएर आउने, यता छोरा वा छोरी हुर्कियो भने बुहारी वा ज्वाँइ उता खोज्ने चलन नमेटियोस् । राष्ट्रियताको विषयले शताब्दीयौंदेखिको जनस्तरको सम्बन्ध टुट्नुपर्छ भन्ने छैन । तैपनि हामीले के बिर्सनु हुन्न भने दुई स्वतन्त्र देशको सिमाना भनेको अन्तर्राष्ट्रिय सिमाना नै हो चाहे त्यहाँ कुनै चिह्न नहोस् वा दस मिटर अग्लो पर्खाल निर्माण गरिएको र प्रत्येक दस मिटरमा बम गाडेर राखिएको होस् ।
यसको हेक्का मधेसी आन्दोलन हाँक्नेहरूले पटक्क्ै नगराखेको प्रष्ट छ । भारतीय भूमिबाट नेपालतिर तारो हान्दा, दुस्मन देशले जस्तो नेपालीको दानापानी सुकाइदिँदा कत्ति पनि पश्चाताप उनीहरूमा छैन । बरु भन्दैछन् भारतबाट बिहे गरेर ल्याएको छोरी वा ज्वाइँले तुरुन्तै राष्ट्रपति र प्राधानमन्त्री बनिहाल्न पाउनुपर्छ । भारतले एक पक्षको पूर्ण समर्थनमा लादेको अघोषित नाकाबन्दीको पूरापुर बचाउ गर्दैछन् । मानौँ उनीहरू नेपालीका नेता होइनन् मोदी सरकारका प्रवक्ता हुन् । लाग्छ, आफ्नो माग पूरा गराउने हेतु मधेसी नेता नेपालमा भोकमरी र कोलाहल फैलाउन उद्यत छन् । यति ठूलो दुस्साहस एक नेपालीले अर्को नेपालीमाथि कसरी गर्न सक्छ ?
अवश्य पनि मुलुकमा धेरै जाति, क्षेत्र, समुदायका समस्या छन् । हालै घोषणा गरिएको संविधानप्रति खुशी व्यक्त गर्नेभन्दा दुखेसो गर्ने धेरै छन् । उनीहरूले आफूले खोजेको प्राप्त गर्न संघर्ष गर्नुपर्नेछ । तर त्यसको मतलब के होइन भने सबै असन्तुष्ट पक्षले हत्याहिंसा फैलाउन र अरू जनतालाई भोकै मार्न थालुन् । आफ्नो राज्य मिलेन भने नेपाल राज्य नै तहसनहस बनाउछु भनेर सबै जुर्मुराए भने देशको हालत के हुन्छ? शत्रुले जस्तो अर्को मुलुकबाट नेपालीलाई प्रहार गर्ने र नेपालीको दानापानी सुकाउनेहरू भोलि कुन मुख देखाएर सिंहदरबार र शितलनिवास पस्ने? उनीहरूमाथि हिमाल र पहाडका जनताले कसरी विश्वास गर्ने?
यो लेख पढ्ने मधेसी नेताभन्दा हुन् यसले पनि पहाडे बाहुनवादी सत्ताको वकालत ग¥यो र मधेसीहरूको मुक्तिको चाहनाको अपव्याख्या ग¥यो । मेरो तर्क त्यो नभएर उल्टो हो । भारतीयजस्तो हर्कत नदेखाउनोस्, आफ्नो र अर्को राष्ट्र चिन्नुहोस्, आफ्नो निहित स्वार्थ पूर्तिका लागि सीमामा किचलो मच्चाएर राष्ट्रलाई अप्ठेरोमा नपार्नुहोस् !
साँच्चै जातीय, छेत्रीय मुक्ति चाहेको हो भने मधेसी दलको नेतृत्वले आफ्नो कार्यशैली बदल्नुपर्छ । शासक वर्गसँगको दुस्मनी सोझा नेपालीसँग लिन छाड्नुपर्छ । तिनै जनताले तिरेको करबाट राज्यका विभिन्न उच्च पदमा बसेर प्राप्त गरेको हैसियतबाट बनेको व्यक्तित्व हो उनीहरूको । विहार र युपीले बनाएको होइन । तमाम मधेसी जनता नेपाली भएर बाँच्न चाहन्छन् । आफूमाथि भएको अन्यायविरुद्ध लड्न चाहन्छन् । सिमानामा बसेर पारिबाट ढुंगामुढा गर्ने, नेपालीको अन्नपानी रोक्ने र ज्याला मजदुरी गरिखाने जनताको गाँस खोस्ने कार्यले मधेसी नेतालाई महान् बनाउदैन । उल्टो कसको डम्फुमा नाच्दैछन् भन्ने आशंका ह्वात्तै बढेको छ । मधेसी र अरू नेपालीको बीच दूरी बढेको छ । उनीहरू नेपाली होइनन् भन्ने गलत मनोभावना पहाडका सामान्य नागरिकमा झ्याँगिदै गएको छ । मधेसी आन्दोलन कसको लागि भन्ने आशंका चुलिएको छ । तसर्थ, सीमा कब्जा गर्ने रणानीतिले मधेस आन्दोलन आफँै बदनाम हुँदै गएको तथ्य नेतृत्वले बुझ्नु जरुरी छ ।






