संगीनाकाे कमब्याक

saangina baidaसंगीना वैद्य छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । सन् २००४ को एथेन्स ओलम्पिकमा संगीनाले सो उपलब्धि हात पारेकी थिइन् । एसियन च्याम्पियनसमेत रहिसकेकी उनले नेपाललाई दक्षिण एसियाली खेलकुदबाट लगातार दुई स्वर्ण र एक कांस्यपदकसमेत दिलाएकी छिन् । नेपाली खेलकुदकै सर्वाधिक सफल महिला खेलाडी संगीना यी सफलता हात पार्नुअघि नै ठूलो दुर्घटनामा परेकी थिइन् । दुर्घटनापछि तेक्वान्दोको रिङमा कीर्तिमानी तथा ऐतिहासिक सफलता हात पार्नु संगीनाका लागि सहज पक्कै थिएन । तर, संगीनाले साहस गरिन् र नेपाली खेलकुदमा बिरलै मानिएको यो सफलता आफ्नो नाममा बनाइन् । संगीनाले उनको त्यो ‘कमब्याक’बारे  सुनाए :


थाइल्यान्डको बैंककमा १३औँ (सन् १९९८) एसियन गेम्स हुँदै थियो । एसियन गेम्सका लागि छनोट भएकी थिएँ । तेक्वान्दो संघले सोही प्रतियोगिताका लागि बन्द प्रशिक्षण सुरु गरेको खबर दियो । बन्द प्रशिक्षणका लागि सोही दिनबाट होटलमा बस्नुपर्ने थियो । त्यसैले रंगशालाको कभर्ड हलमा बिहानको ट्रेनिङपछि लगेज लिन घरतर्फ जाँदै थिए, बाइकमा ।

रंगशालाको प्याराफिटमा जोडिएको तेक्वान्दोको ट्ेरनिङ हल अघिबाट मोटरसाइकल स्टार्ट गरेर गेटमा मात्रै पुगेकी थिएँ, सुन्धारातर्फबाट आउँदै गरेको बसले मलाई ठक्कर दियो । म भुइँमा ढलेँ । बाइक एकातिर म अर्कैतिर पुगेँ । लगत्तै मलाई वीर अस्पताल लगियो । त्यसबेला अर्धचेत अवस्थामा थिएँ । वीर अस्पतालमा उपचार नहुने भएपछि झन्डै दुई घन्टापछि सातदोबाटोस्थित ‘बी एन्ड बी’ अस्पताल लगियो । दाहिने खुट्टामा पीडा भइरहेको थियो । दाहिने खुट्टा पूरै ‘ड्यामेज’ भएको रहेछ ।

उपचारका लागि तीन–चार महिना अस्पतालमै बस्नुपर्ने भयो । त्यसपछि सोचेँ, मेरो खेल जीवन पनि त्यहीँ अन्त्य भयो । एसियन गेम्सका लागि छनोट भएपछि बन्द प्रशिक्षणमा बस्न हिँडेको मान्छे अस्पतालको बेडमा पुगेकी थिएँ । निकै पीडा भयो । अस्पताल बसाइ रोएरै बित्यो ।

घाउको दुखाइ त सहेकै थिएँ, अब खेल्न नसक्ने भएँ भनेर चिन्ता लाग्यो । घाउको दुखाइ भन्दा भविष्यको चिन्ता झनै चर्को थियो । बी एन्ड बीमा तीन–चार महिना बसेँ । त्यसपछि थेरापीका लागि अर्को चार महिना अस्पताल धाएँ । मेरो उपचार डा. बाबुकाजी श्रेष्ठले गर्नुभयो । उहाँ तिमी फेरि खेल्न सक्छौ भन्नुहुन्थ्यो । तर, मलाई त्यसबेला फेरि खेल्न सक्छुजस्तो कहिल्यै लागेन ।

खुट्टामा केहीले छोयो भने पनि लामो समयसम्म झन–झन गथ्र्यो । दौडने र किक हान्न सक्ने त कल्पना पनि गरेकी थिइनँ । उहाँको कुरो सुन्थेँ, अनि मनमनै भन्थेँ, मेरो खेल जीवन त सकियो । डा. बाबुकाजीले फुटबल, टेनिसलगायत खेलाडीका यस्ता समस्या हेरिसक्नुभएको रहेछ ।

उहाँले त्यस्ता बिरामीका बारेमा अध्ययन पनि गर्नुभएको रहेछ । त्यही आधारमा उहाँले मलाई खेल्न सक्छौ भन्नुभएको रहेछ, तर म आफैँलाई खेल्न सक्छु भन्नेमा विश्वास थिएन । दुर्घटनापछि म आठ–नौ महिना तेक्वान्दोबाट टाढा रहेँ । दाहिने खुट्टा ‘फ्र्याक्चर’का कारण म शून्यमा झरेकी थिएँ । मलाई अब फेरि शून्यबाट सुरु गर्नु थियो । बिस्तारै हिँड्न र दौडन थालेँ । अनि बिस्तारै ‘बेसिक किक’ प्रहार गर्न सुरु गरेँ । मैले ह्वाइट बेल्टका खेलाडीले जस्तै फेरि तेक्वान्दो खेल्न सुरु गरेँ ।

त्यसबेला मलाई साथीहरू र गुरुहरूले पनि निकै साथ दिनुभयो । साथीहरू खेल्न सक्छेस् भन्थे । गुरुहरूले पनि त्यसै भन्नुहुन्थ्यो । बिस्तारै–बिस्तारै ट्ेरनिङलाई अघि बढाएँ । त्यसबेला नेपालले आठौँ दक्षिण एसियाली खेलकुद (साफ) आयोजनाको तयारी गर्दै थियो । आफ्नै देशले साफको आयोजना गर्दै छ, त्यसमा मैले नखेल्ने ? आफैँलाई प्रश्न गरेँ । जसरी पनि खेल्नुपर्छ भन्ने निचोडमा पुगेँ । त्यसपछि ट्रेनिङलाई अझ बढाएँ । नभन्दै आठौँ सागका लागि छनोट भएँ । त्यसबेला जावलाखेलस्थित स्टाफ कलेजमा बन्द प्रशिक्षण राखिएको थियो । त्यो दुर्घटनापछि साग खेलकुदको बन्द प्रशिक्षणमा स्टाफ कलेजको गेटभित्र छिरेको दिन अझै पनि याद आउँछ ।

ठूलो दुर्घटनापछि फेरि पुरानै इच्छा, उद्देश्य र लयमा फर्कंदै थिएँ । तर, लामो समय बाहिरै रहेकाले होला आफैँले भने केही कमजोर महसुस गरिरहेकी थिएँ । नियमित ट्रेनिङ गरिरहेका साथीहरूसँगै दौडनुपर्ने, उनीहरूलेजत्तिकै किक हान्नुपर्ने थियो । त्यो मेरा लागि निकै मुस्किल थियो । त्यसबेला पनि साथीहरू र गुरुबाट निकै साथ पाएँ । उहाँहरूकै हौसलाले गर्दा नियमित ट्रेनिङ गरेँ । त्यसअघि म दाहिने खुट्टा बढी प्रयोग गर्थें । देब्रे पनि उत्तिकै चलाउँथेँ, तर दाहिने खुट्टाले छिटो किक हान्थेँ ।

सुरुवातबाटै दाहिने खुट्टा चलाउने भएकाले मुस्किल पक्कै थियो । मसँग कुनै उपाय थिएन । त्यसैले देब्रे खुट्टाले बढी अभ्यास गर्न थालेँ । आक्रमण गर्दा र काउन्टरमा पनि देब्रे खुट्टाकै बढी प्रयोग गर्ने गरेँ । त्यसमा सफल हँुदै गएँ । अन्य योजना पनि त्यहीअनुसार बनाएकी थिएँ । भाग्यवश, मैले जसरी तयारी गर्छु भन्ने सोचेकीे थिएँ, साफको तयारी त्यसरी नै भयो ।

आठौँ साफ खेलकुदको नेपालले भव्य रूपमा आयोजना गर्‍यो । मैले पनि त्यो साफ खेलकुदबाट देशलाई स्वर्ण पदक दिलाउन सफल भएँ । निकै खुसी लाग्यो । त्यो दुर्घटनापछि नयाँ जीवन पाएकी थिएँ । त्यसबेला मेरो खुट्टा मात्रै होइन, मेरो ज्यानै जान पनि सक्थ्यो । त्यसपछि प्राप्त त्यो सफलताले दिएको खुसीको सीमा थिएन । त्यसपछि थप आशा पलाए । एक खेलाडीको जीवनमा ओलम्पिक खेल्नु नै सबैभन्दा महत्त्वपूर्ण र ठूलो हुने गर्छ ।

ओलम्पिक खेल्ने मरिसकेको मेरो सपना त्यही साफको गोल्ड मेडलपछि फेरि ब्यूँतिएको थियो । अझ मेहनत गर्नुपर्छ, ओलम्पिकमा सहभागिता जनाउनैपर्छ भन्ने अठोट गरेँ । त्यहीअनुसार तयारी गरेँ । अन्त्यमा छनोट चरण पार गर्दै ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्ने सफलता पनि प्राप्त भयो । निकै खुसी लाग्छ । दुर्घटनापछिको त्यो ‘कमब्याक’ वास्तवमै अविस्मरणीय रह्यो ।